
–निशा गुरुङ
हेटौंडा–नेकपा एमालेको महाधिवेशन नजिकिँदैछ । हालसम्म विभिन्न पदमा उम्मेद्वारी घोषणा पनि भएका छन् । यही परिप्रेक्ष्यमा हेटौंडा सन्देशकर्मी निशा गुरुङले नेपालकी पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसँग उक्त विषयसहित अन्य केही राजनीतिक विषयमा केही कुरा बुझ्ने प्रयास गरेकी छन् ।
पहिलो महिला मुख्यमन्त्री बन्नुभयो । कस्तो रह्यो छोटो यात्रा ?
यात्रा छोटो थियो । तर, अनुभव धेरै लिन पाएँ । भर्खर सुरु भएको संघीयताको न संरचना थियो न त व्यवस्थापन । सबै जगदेखि मिलाउने, सबै बस्ने व्यवस्थापन थिएन असहज थियो । सरकारमा जाने स्थिति भएपछि छोटो भए पनि के महसुस भयो भने सरकारमा बसेर गर्नुपर्ने कामहरु धेरै रहेछन्, गर्नसक्ने कामहरु पनि धेरै रहेछन् ।
मैले छोटो समयमा पनि सरकारमा बसेर नीति, योजना तुरुन्त तयार पारेर राम्रो समूह बनाउन सकें । र, समाजवादको लक्ष्य प्राप्त गर्न योजना आयोगमा छलफल गरेर छाडेका पनि छौं हामीले । स्वास्थ्य मन्त्रालयलाई टुक्र्याएका थियौं । किनभने स्वास्थ्य निकै संवेदनशील भएको हुँदा यसलाई अन्यत्र राख्नुपर्छ भन्ने महसुस भएको थियो र राम्रो पनि भयो । साक्षर प्रदेश घोषणा गर्न पनि सफल भयौं । छोटो यात्रामा पनि राम्रा योजना बन्यो । कतिपय योजनाहरु समय अत्यन्त अभावले अध्ययन गर्दागर्दै काम गर्न पाइएन ।
आफू हट्नुपर्छ भनेर थाहा हुँदाहुँदै मुख्यमन्त्री बन्नुभयो । हाल एमालेको महाधिवेशनमा पनि तपाईंलाई हटाउनुपर्छ भन्ने कुरा सुनिन्छ नि ?
त्यस्तो छैन । हटाउनुपर्छ भन्ने कसैले सोचेको जस्तो मलाई लाग्दैन । किनभने मलाई पार्टीका अध्यक्ष केपी कमरेड आफैंले वागमती प्रदेशको सरकारमा जान सुझाव दिनुभएको थियो ।
एमालेमा यति धेरै महिला नेतृहरु छन् । तर, नेतृत्वमा वा भनौं पदाधिकारी महिला नेतृत्व गौण छ । हालको महाअधिवेशनमा पनि यस्तै देखिने सम्भावना छ नि ।
पार्टीमा महिलाहरु धेरै छन् । दुःख गरेका त्याग गरेका महिलाहरु नभएका होइनन् । महिलाले पनि आन्दोलनमा त्याग गरेका छन् । मैले पार्टीमा कुरा पनि राखेकी छु । महिलालाई पनि विश्वास गर्नुपर्छ र पदाधिकारीमा महिलालाई पनि अवसर दिनुपर्छ भनेर मैले पटकपटक भन्दै आइरहेकी छु । तर वास्तवमा भन्नुपर्दा हाम्रो नेपाली समाजले हालसम्म पितृसत्ता अवस्था छाड्न सकेको छैन ।
यसपालि महाधिवेशनमा महिलाहरु तयार गरेका छांै । मैले पनि उपाध्यक्ष सजिलै पाएकी होइन । काम गर्दैगर्दा लड्दै आएको हुँदा पाएकी हुँ । मैले महिलाहरु नेतृहरुलाई भनेकी छु सशक्त हुनु र पदाधिकारीमा दाबी गर्नु भनेर यो महाधिवेशनमा दाबी पनि गर्नहुनेछ । सक्षम महिला आरक्षणमा जानु हँुदैन ।आरक्षणमा जानु भनेको कमजोर हुनु हो, सक्षम महिलाहरु प्रतिस्पर्धामा जानुपर्छ ।
ओलीले चुनाब हुने भनेका छन् । सर्वसम्मत् नहुने भनेका छन् । के तपाईंहरुलाई साइड लगाउन खोजिएको हो ?
अहिले हिजोको जस्तो अवस्था होइन, हिजोका दिनमा सर्वसम्मत् हुन्थ्यो । तर, केन्द्रीय कमिटीमा प्रतिस्पर्धा नै गर्नुपर्छ जस्तो मलाई लाग्छ । र, साइड लगाउन खोजिएको जस्तो मलाई लाग्दैन । हामी सबै छलफल गरेर पार्टीलाई अबको महाधिवेशनबाट कुन दिशामा लैजाने भन्ने योजना हो ।
ओलीको नेतृत्वलाई कडा आलोचना गर्ने तपाईं नै हो । हाल अध्यक्ष पनि ओली नै हुनुपर्छ भन्ने तपाईं नै । तपाईंको युटर्न केका लागि ?
मैले पार्टीले गलत काम गर्दा नबोलेको पनि होइन । पहिला बाहिर बोल्यो अब पार्टीभित्र बसेर कमी÷कमजोरीलाई मिलाउनुपर्छ । माधव नेपाल कमरेड पार्टी त्यागेर जानु भइसकेपछि पार्टीलाई दुःख गरेको र पार्टीलाई जोगाउन अध्यक्ष ओली नै नेतृत्व गर्नुपर्छ भन्ने हो । पहिला माधव नेपालजीहरु नै सल्लाह गर्नहुन्थ्यो, हामीलाई जानकारीसम्म हँुदैन थियो ।
हाल केही वातावरण मिलेको छ । हिजोका कमी÷कमजोरी सच्याउँदै जानुपर्छ । पार्टी यो हालतमा पुगेको छ । फेरि पनि झगडा भयो भने पार्टीको हालत कुन अवस्थामा पुग्ला ? त्यसैले अब हामी सबै एकमन एकमतसाथ पार्टीलाई मिलाएर जानुपर्छ । मैले अध्यक्ष केपी कमरेडसँग पनि कुरा गरेकी छु, पार्टी एकढिक्का भएर लानुपर्छ भनेर ।
मैले युर्टन भन्दा पनि शैली फेरेकी छु । हिजोको जस्तो अवस्था होइन, अहिले वातावरण फरक भएको हुँदा अब पार्टीभित्र बसेर मिलाएर अगाडि जानेछांै ।
अब कुन पदमा उम्मेद्वारी दिनुहुन्छ ?
म हाल पार्टी उपाध्यक्ष हँु । हाल माथि जाने अवस्था र स्थिति पनि छैन । तर, तल पनि जाने कुरा भएन । अहिले जे छुु, त्यहीं बस्ने अवस्था छ । साथीहरुले पनि त्यही सुझाव दिनुभएको छ । मैले मै हुनुपर्छ पनि भनेको छैन । पहिला पार्टी बाँच्नुपर्छ, पार्टी बचेमात्र पद पाउने हो । स्थायी कमिटी बैठकमा एकतावद्ध एमाले कसरी बनाउने भनेर केपी कमरेडसँग सल्लाह पनि गरेका छौं ।