विद्युत् असन्तुलनले इलेक्ट्रिक सामान प्रयोगबञ्चित

–मानवी बानियाँ
हेटौंडा–नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्तिक २७ गते शनिबार बुटवलको एक कार्यक्रममा विद्युत् खपत बढाउन ‘घरघरमा इन्डक्सन चुलो, सडकमा इलेक्ट्रिक गाडी’ कार्यक्रम सञ्चालन गर्ने बताएका थिए ।
विद्युत्को आन्तरिक खपत बढाउन उपभोक्ताका घरमा विद्युत् क्षमता बढाउने र ठाउँठाउँमा चार्जिङ स्टेसन बनाउने काम भइरहेको उनले कार्यक्रममा बताएका थिए । प्राधिकरणका निर्देशक घिसिङले कार्यक्रममा यस्तो प्रतिक्रिया दिँदै गर्दा हेटौंडामा भने हालसम्म एउटा मिक्स्चर चलाउनसमेत नपाउने उपभोक्ता रहेको कसलाई के थाहा ?
हेटौंडा—१८, हर्नामाडीका बलराम थापा गएको तिहारमा घर झलमल्ल पार्ने सोच बनाएका थिए । अन्य वर्ष पुरानो घरमा पर्व मनाइरहेका थापाले यस वर्ष नयाँ घरमा झिलीमिली बत्ती हालेर मनाउने सुर, सुरमा मात्र सीमित रह्यो ।
बिहीबार १८ गते बेलुका करिब साढे ५ बाट भैलीका दिन उनले घरमा बत्ती हाले । तर, बत्ती बलेन । कारण थियो–भोल्टेज कम । उनको घरनजिक छिमेकीको भने घरमा झलमल्ल बत्ती बलिरहेको देखेर उनलाई ईष्र्या लागिरहेको थियो । घरमा झलमल्ल बत्ती बाल्ने सपना कम भोल्टेजका कारण पुरा हुन सकेन । बत्ती झलमल्ल त बल्यो तर राति ३ बजे । विद्युत्को कम भोल्टेजका कारण उनको घरमा बेलाबेलामा अनेकौ समस्या आइपरिरहेका छन् ।
थापामात्र होइन, हर्नामाडीका बासिन्दा यस्तै समस्याबाट गुज्रनुपरेको अवस्था छ । ठूलोदमार खानेपानी हर्नामाडी डिपबोरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष रामकृष्ण बानियाँका अनुसार गाउँमा ट्रान्सफर्मर नहुँदा हाइभोल्टेज र लोभोल्टेजका कारण धेरै समस्या हुने गरेको छ ।
दिउँसो कम भोल्टेजका कारण मोटरले पानी तान्न नसक्ने भएकाले राति तान्नुपर्ने अवस्था रहेको बानियाँले गुनासो गरे । भोल्टेजका कारणले मोटरसमेत चाँडै बिग्रने गरेको उनले बताए । गृहिणी शशि खतिवडा विद्युत्बाट भान्सामा हुने काम, राइसकुकरमा खाना, मिक्स्चर, पानी तताउनसमेत नपाएको दुःखेसो गर्छिन् । कमभोल्टेजका कारण आफूले विद्युतुबाट चल्ने कुनै सेवा लिन नसकेको उनी प्रतिक्रिया दिन्छिन् ।
ट्रान्सफर्मर नहुँदा टोलमा विद्युत् अनियमित हुनुका साथै पर्याप्तमात्रामा विद्युत् हुँदैन । विद्युत् भोल्टेज नपुग्दा मोटर नचल्ने र पानीको समस्याबाट गाउँका बासिन्दा पीडित बन्ने गरेका छन् । लामो समयदेखि विद्युत् प्राधिकारण हेटौंडाले ट्रान्सफर्मर जडान गर्ने भनेर हर्नामाडीमा ट्रान्सफर्मर पु¥याएको पनि छ । तर, अलपत्र छ ।
ठूलोदमार डाँडामा रहेको एक बारीमा लामो समयदेखि ट्रान्सफर्मर त्यतिकै थन्काइएको छ । तत्काल आवश्यक रहेको ठाउँका बासिन्दालाई प्राधिकरणले कुनै किसिमको पहल अगाडि बढाएको छैन । ट्रान्सफर्मर नहुँदा घरमा करेन्ट सोझै हाइभोल्टेजमा पुग्ने कारण कतिपयले ११ हजारको भोल्टेजबाट ज्यानसमेत गुमाउनुपरेको अवस्था छ ।
विद्युत् प्राधिकरण हेटौंडा बितरण केन्द्र प्रमुख नरेन्द्र श्रेष्ठ भन्छन्–ट्रान्सफर्मरको ठूलो महत्व छ । विद्युत्प्रवाह सन्तुलन गर्ने भएका कारण यसको महत्व ठूलो हुन्छ । ट्रान्सफर्मर नभएको बिजुली बत्तीमा ११ हजार भोल्टेजको विद्युत्प्रवाह हुने र ट्रान्सफर्मर भएको बिजुली बत्तीमा ४ सय भोल्टेजको विद्युत्प्रवाह उनले जानकारी गराए ।
बिभिन्न ठाउँमा ट्रान्सफर्मर राख्ने काम जारी रहेको बताउँदै श्रेष्ठले ठूलोदमारमा राखिएको ट्रान्सफर्मरबारे आफू जानकार नभएको बताए । यस विषयमा कार्यालयका कर्मचारीलाई रिपोर्टिङ गरेर तत्काल कार्य अघि बढाइने श्रेष्ठले बताए ।