मानवी बानियाँ

हेटौंडा–हेटौंडाको भुटनदेवी मन्दिरमा बिगतका वर्षमा जस्तो दशैंको रौनक देखिएन । बिगतका वर्षमा दशैंको घटस्थापनादेखि नै दर्शनार्थीको भिड लाग्ने भुटनदेवी मन्दिरमा यसपालि भने खासै रौनक नदेखिएको हो ।

भुटनदेवी मन्दिर व्यवस्थापन समिति अध्यक्ष राममान श्रेष्ठले नवरात्रि सुरु भएपछि मन्दिरमा जसरी दर्शनार्थी आउने गर्दथे, त्यो भिड नदेखिएको बताए । कोरोनाको जोखिम कायम रहेकाले पनि मन्दिरमा भक्तजनको उपस्थिति कम भएको हुनसक्ने उनको भनाइ छ । तर, फूलपातीदेखि अष्टमी र नवमीको दिन भने भक्तजनको भिड लाग्ने उनको अनुमान छ ।

गत वर्ष मन्दिर बन्दको अवस्थामा थियो । तर, यसपालि कोरोना प्रभाव निकै कम देखिएकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुमति पाएर मन्दिर खुला गरेको श्रेष्ठले बताए । ९ दिनसम्ममा मन्दिरमा हजारौं भक्तजने आउने उनले बताए ।

कोरोना नियन्त्रणमा नआएको कारण मन्दिर व्यवस्थापन समितिबाट सेनिटाइजर प्रयोग, सामाजिक दुरी कायम र मास्कको अनिवार्य प्रयोग गर्न भक्तजनलाई आग्रह गरिएको उनले जानकारी गराए । बिहीबार घटस्थापना आरम्भ शक्तिपीठपरिसरमा लक्ष्मीनारायण र कालभैरवको प्राणप्रतिष्ठा भएको थियो ।

भुटनदेवी मन्दिर हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मा अवस्थित एक प्रसिद्ध शक्तिपीठ हो । हेटौंडा नगरपालिकाको मध्यभागमा मन्दिर अवस्थित छ । महाभारतकालीन इतिहास बोकेको मन्दिरमा हिन्दु तथा बौद्ध धर्मावलम्बीले पूजाअर्चना तथा भाकल राख्ने चलन रहेको पाइन्छ । विशेषगरि वडादशैंको नवरात्रिमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्दछ भने हरेक शनिबार पनि उल्लेख्यरुपमा भक्तजनको उपस्थिति रहन्छ ।

दुई तहको छानायुक्त नेपाली तलेजु शैलीमा निर्मित भुटनदेवीको मन्दिरले मध्यकालीन नेपाली शैलीलाई दर्शाउने गर्दछ । मन्दिरको स्थापना मध्यकालतिर मकवानपुरे सेनहरुले गरेको मानिन्छ । पछि २०२८ सालमा यसको जीर्णाेद्धार गरिएको थियो । तर, पुराना घण्टीहरु करिब एक सय वर्ष अगाडिदेखिको पाइएका छन् । भुटनदेवी मन्दिरछेऊ लक्ष्मीनारायण र गणेशलगायत देवीदेवताका मूर्ति र मन्दिर पनि छन् । भुटनदेवी मन्दिर पुरानो कला र संस्कृतिको परिचायक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here