हेटौंडा–भाडा समायोजनको माग गर्दै हेटौंडामा यातायात व्यवसायी आन्दोलनमा उत्रिएकै दिन बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारीसाधनमा कात्तिक १ गतेदेखि लागु हुने गरी २३ प्रतिशत्ले भाडावृद्धि गरेको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा चल्ने यातायातसाधनमा पाँच किलोमिटर दुरीसम्मको भाडा १८ रुपियाँ कायम गरिएको छ भने १० किलोमिटरसम्म २३ रुपियाँ, १५ किलोमिटरसम्म २७ रुपियाँ, २० किलोमिटरसम्म ३० रुपियाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपियाँ कायम गरिएको छ ।
भाडादरमा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपियाँका दरले सरसामान वा गुन्टा साथमा लैजान पाउने जनाइएको छ । उक्त भाडादरमा डिलक्स सुबिधासहितको सेवा प्रदान गर्ने सवारीसाधनहरुले बीस प्रतिशत्सम्म भाडा थप लिन सक्नेछन् ।
यातायात व्यवसायीले बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको परिसरमा बुधबार धर्ना दिएका थिए । भाडा समायोजनको विषयलाई लिएर सार्वजनिक यातायात महासंघ बागमती प्रदेशको राजधानी हेटौंडामा धर्नामा बसेको हो ।
प्रदेशमा तुरुन्त भाडा समायोजन गर्न माग गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल धर्नामा बसेको हो । हेटौंडा–१, चौकीटोलस्थित बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा धर्नामा बसेका व्यवसायीले भाडादर समायोजन तथा यातायातको समग्र समस्या समाधान गर्न उच्चस्तरीय आयोग–प्राधिकरण तत्काल गठन गर्न दबाब दिएका थिए ।
नेपाल सरकार, भौतिक पूर्वाधार यातायात मन्त्रालयको असार २७ को मन्त्रिस्तरीय निर्णयानुसार यातायात व्यवस्था विभागबाट असार २९ गते लामो तथा मध्यम (अन्तरप्रदेश) रुटको भाडा समायोजन गरिएको र प्रदेशभित्र सञ्चालन हुने स्थानीय र छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन हुनुपर्ने कानुनी प्रावधान छ ।
यस सम्बन्धमा यातायात व्यवसायी संघ–संगठनको मागप्रति संवेदनशील रही उपभोक्ताको हितसमेतलाई मध्यनजर गर्दै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘प्रदेश भाडा निर्धारण–समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावलीको प्रावधानअनुसार गठन गरिएको भाडादर निर्धारण–समायोजन समिति’ को प्रतिवेदनपछि भाडा समायोजन गरिएको मन्त्रालयले जनाएको छ ।