मनाइँदै सूचना अधिकार दिवस–थाहा दिवस
हेटौंडा–आज सेप्टेम्बर २८ । यो दिन सूचना अधिकार दिवस अर्थात् थाहा दिवस मनाइन्छ । जसका प्रवर्तक मानिन्छने–रुपचन्द्र बिष्ट । २०५६ साल असार ७ गते थाहा आन्दोलनका प्रणेता बिष्टको निधन भयो ।
हुन त मृत्युपर्यन्तमात्र कुनै पनि मानिसको योगदानलाई चर्चा गरिने र सम्झने परम्पराले रुपचन्द्रलाई किन पर राख्थ्यो र । ६५ वर्ष ५ महिना ११ दिन पूरा गरेको दिन रुपचन्द्रले संसारबाट बिदा लिए । जीवन छँदा रुपचन्द्र बिष्टलाई वास्तविकरुपमा अनुयायीहरुले चिनेनन् । त्यही भएर नै होला, रुपचन्द्रलाई शत्रुले चिने, मित्रुले चिनेनन् भन्ने गरिन्छ ।
मृत्युपछि रुपचन्द्रको अभाव पूरा गर्न सक्ने कोही भेटिएनन्, अनि बिस्तारै बिष्टको अभाव खड्किँदै गयो । आँखाअगाडि रहँदा कसैको पनि मन नजाँदो रहेछ । आँखाअगाडि नहुनु र संसारमै नरहनु फरक हो । संसारमै नभएको चीजको आवश्यकता कसरी पूरा हुनु ? संसारमै नभए पनि उनका प्रतिविम्बले धेरैलाई चिमोट्दो रहेछ । मनभित्र गहिरो तुष रहँदो रहेछ । अहिले त्यस्तै भएको छ थाहा नगरका रुपचन्द्र बिष्टका अनुयायीहरुलाई । हुन त अनुयायी भनाइनु र अनुयायी नै हुनुमा त आकाश जमिनको फरक छ ।
नजिकबाट रुपचन्द्र बिष्टको संगत नगरे पनि संगत गर्नेहरुबाट सुनेका आधारमै पनि सम्झनैपर्ने, अजम्बरी नाम हो रुपचन्द्र । रुपचन्द्रलाई सम्झने आआफ्नै तौरतरिका छन् । कसैले मनले सम्झन्छन्, बाहिर अभिव्यक्त गर्दैनन, कत्तिले चाहिं मुखले रामराम बगलीमा छुरा व्यवहार गर्दछन् । सोच्ने र व्यवहार गर्ने मानव अन्तस्करणबाट आउनुपर्दछ ।
रुपचन्द्र बिष्ट मकवानपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर चेतना फैलाउने शिक्षाबादी, जनबादी नेता थिए । रुप्चन, रुदाने, स्वरुपे आदि नामबाट पनि चिनिने उनको जन्म बाबु पदमबहादुर बिष्ट र आमा चित्रकुमारीबाट १९९० पुस २६ मा भएको हो । उनी एक सम्भ्रान्त परिवारका थिए । बिष्टले पारिवारिक विचारभन्दा फरक कम्युनिष्ट राजनीति स्कुले जीवनबाटै शुरु गरे । २००७ देखि २०१० सम्म कम्युनिष्ट विद्यार्थी राजनीतिमा सक्रिय रहे । २०१० देखि २०१७ सालसम्म किसान र मजदुरको पार्टीमा क्रियाशील रहे ।
२०१७ देखि २०२६ सालसम्म बिष्टको सक्रियता विद्यार्थी र किसान क्षेत्रमा रह्यो । १७ सालपछि २२ र २९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च रहे र पछि २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य भए ।
बिष्टले बीए र बीएलसम्म औपचारिक अध्ययन गरे र पछि सरकारको असहयोग रहेकाले भारतमा स्वनिर्वासित भएर पूर्वीय दर्शन अध्ययन गरे । बिष्टको विचार जनबादी भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहँदासमेत उनलाई गिरफ्तार गरियो । पटकपटक गिरफ्तार भए पनि जनमुखी राजनीतिमा पूर्णप्रतिवद्ध रहे । साधारण जीवन रुचाउने उनले विवाह गर्दासमेत पाहुनालाई चियामात्र खुवाए । दुई सन्तान भएका उनको पछि सम्बन्ध बिच्छेद भयो ।
धेरै पटक राजद्रोहलगायत अन्य आरोपमा पक्राउ परेका बिष्टलाई तत्कालीन पञ्चायती सरकारले धेरै पटक जेल हालेको थियो । जेलबाट फर्केपछि मकवानपुरको दामनमा प्राकृतिक विज्ञानको ८ वर्ष स्वअध्ययन गरे । उनी स्थानीय विद्यालयमा प्रधानाध्यापक भए । विहान बेलुका प्रौढ शिक्षासमेत चलाए ।
२०३८ र २०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका बिष्ट फोटो होइन, विचार राखेर निर्वाचन लड्थे । बिष्ट मुलुकमा रहेको मण्डलेतन्त्रको मात्र होइन, घर, टोल, गाउँ र दलभित्र रहेको मण्डलेतन्त्रको पनि प्रखर विरोधी थिए । केही समय बिष्टसँग जेलमा बसेका निवर्तमान प्रधानमन्त्री केपी ओली यसरी सम्झन्छन् बिष्टलाई–उनी महान् मान्छे थिए, जीवनको विशेषता जनशैली, राजनीतिको विशेषता जनमुखी । यी रुपचन्द्रका विशेषता हुन् ।
थाहा आन्दोलन सुरुवात
२०२९–३० सालतिर रुपचन्द्र बिष्टले थाहा आन्दोलन सुरु गरे । रुपचन्द्र र उनका सहकर्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रुखदेखि खाली कागज र चुरोटका बट्टासम्ममा ‘थाहा’ लेखिए । ‘थाहा’ नेपाली छाप्राहरुमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो । यस आन्दोलनको सबभन्दा महत्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता थिएन । यस आन्दोलनको सार नै यसका प्रवर्तकको रुखो बोली र ठाडो आग्रह थियो ।
रुपचन्द्र बिष्ट त्यस्ता नेपाली थिए, जो राजनीति गरेर राजनीतिज्ञ कहलिएनन् । श्रम गरेर पनि श्रमिक भनिएनन्, साहित्य लेखेर साहित्यकारमा दरिएनन् । मौलिक दर्शन स्थापित गरेर पनि दार्शनिक भनिएनन् । एक सनकी मान्छेका रुपमा तत्कालीन शासकले उनलाई चित्रण ग¥यो । थाहा अभियानका त्यतिबेलाका एक अभियन्ता मदन राई थाहा अभियानलाई नेपाली माटोमा जन्मिएको दर्शन भन्छन् ।
उनी भन्ने गर्थे–पैसाबाट सत्यता, पदबाट इन्साफ, शोषकबाट विकास, विदेशीबाट राष्ट्रियता, गुण्डाबाट राजनीति, शासकबाट प्रजातन्त्र पाइन्छ भन्नेले लगाउँछन् चितुवालाई बाख्राको गोठालो । उनले पञ्चायती व्यवस्थालाई त्यहीबेला चितुवाको संज्ञा दिन्थे । उनले खराब मन भएकाबाट असल काम होला भनी सोच्नु दिवास्वप्न भएको उल्लेख गरेका छन् ।
उनले तीन दशक थाहा आन्दोलन चलाए । यस आन्दोलनको मुख्य सार थियो–निष्पक्ष सक्रियताको अभ्यास । अर्को शब्दमा, चेतनाहीन जनताको चेतनासम्पन्न नागरिकमा रुपान्तरणमार्फत् राजनीतिक र सामाजिक जागरण ल्याउनु । उनी हमेसा भन्ने गर्थे–श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन, छाप्राको राजनीति महलले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन, आफ्ना लागि आफैं जागेर अघि बढ्नुपर्छ । दुःख पाउनेले नै दुःखको रंग चिनेको हुन्छ । श्रम गर्नेले नै श्रमिकको व्यथा जानेको हुन्छ । अतः जसको उत्थान हुनुपर्छ, ऊ स्वयम्ले अगुवाइ गर्नुपर्छ । श्रम गर्नुपर्छ, ठाउँमा पग्लनुपर्छ, ठाउँठाउँमा कठोर बन्नुपर्छ । जानेर बुझेर अघि बढ्ने हिम्मत गर्नुपर्छ । होससहितको जोशले काम गर्नुपर्छ ।
उनले राष्ट्रिय पञ्चायतदेखि आमसभा र सर्वसाधरण एवम् शासकसँग एकै किसिमका भाषा बोले । चाहे सर्वसाधारण हुन् वा शासक÷प्रशासक नै किन नहुन्, सबैलाई तँ भन्थे, तिमी बिरलैलाई भन्थे । तपाईं भन्ने खालका मानिस उनको नजरमा बिल्कुल कम थिए ।
रुपचन्द्र बिष्टले जीवनको उत्तरार्धमा पनि अभियानलाई निरन्तरता दिइरहे । आफू झुप्रेझाम्रे भएकाले सोहीबमोजिम सामान्य ठाउँमा उपचार गर्न र मरेपछि बिल्कुल सामान्य वर्गझैं अन्त्येष्टि गर्न अह्राएका थिए । सहयोगीलाई आफ्नो शवमा अबिर, माला नलगाउन, काजकिरिया नगर्न भनेका थिए । उनको मृत्यु २०५६ साल असार ७ गते भयो ।