हेटौंडा–पूर्वी मकवानपुरको बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले पालिका बालश्रममुक्त गाउँपालिका घोषणाको तयारीमा रहेको बताएकी छन् ।
बाल दिवसको अवसरमा बकैया–३, हात्तीसुँडेमा आयोजित कार्यक्रममा उपाध्यक्ष बोलखेले गाउँपालिकाले बालबालिकाहरुको क्षेत्रमा बिभिन्न कामहरु गरिरहेको बताइन् । उनले केही महिनाअघि बालमैत्री घोषणा भएको बताउँदै पालिकालाई मकवानपुरकै पहिलो बालश्रममुक्त गाउँपालिका घोषणाको तयारी भएको बताइन् । बालमैत्री गाउँपालिका घोषणाको स्मरण गर्दै उपाध्यक्ष बोलखेले पालिकाले बालबालिकाको हकहित र अधिकारका लागि बिभिन्न कार्यक्रमहरु गरिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।
उनले पालिकामा बालश्रममा परेका बालबालिकाहरु न्यून रहेको बताइन् । ‘विद्यालय बन्द रहेको अवस्थामा आफ्ना अभिभावकलाई काम सघाउनुलाई बालश्रम भन्दैनौं,’ उपाध्यक्ष बोलखेले भनिन्–१४ वर्ष उमेर समूह भन्दा साना उमेरका बालबालिका विद्यालय जानबाट बञ्चित भएर अरुको घरमा काम गरेर बस्नुहुन्छ भने त्यसलाई निष्कृष्ट प्रकारको बालश्रम भन्छौं ।
पालिकामा बालविवाह समस्याका रुपमा रहेको बताउँदै उपाध्यक्ष बोलखेले बालविवाहले भविष्यमा निम्त्याउने समस्या अभिभावक आफैंले बुझ्नुपर्ने बताइन् । ‘विद्यालयहरु भर्खर खुलेका छन्, बालबालिकाको गतिविधि अझ क्रियाशीलढंगबाट अघि बढाइरहेका छौं । हामीले बालबालिकाहरुको कार्यक्रमलाई रोकेका छैनौं,’ उपाध्यक्ष बोलखेले भनिन्–कोभिड महामारी र विद्यालय बन्द भएका कारण केही गतिविधि रोकिएको थियो । अब ती कार्यक्रमलाई निरन्तरता दिनेछौं ।