Tuesday, June 6, 2023

साना कुराले निम्त्याउने ठूला घटना

ताजा / भरखरै प्राप्त

‘गौरव योजना’ लाई छुन चाहँदैनन् स्थानीय

मानवी बानियाँ

हेटौंडा–राष्ट्रका ठूला ‘गौरव योजना’ मा रहेका विकास निर्माणमा आइपर्ने समस्याको प्रत्यक्ष भागीदार हुन्छन् स्थानीय । मकवानपुरअन्तर्गत् राष्ट्रको गौरव योजनामध्ये पर्ने एक हो–मदन भण्डारी राजमार्ग ।

हाल हेटौंडाको पूर्वी हटिया, हर्नामाडी, छतिवन र फापरबारीमा बनेका ती योजनाअन्तर्गत् सडकको चर्चा हुने गर्छ । हाल त्यहाँका बासिन्दा बाटो सुबिधायुक्त रहेको अनुभूति गर्छन् । तर, निर्माण चरणकै अवस्था रहेका सडकमा कतिपय ठाउँमा ठूला दुर्घटना निम्त्याउने खालका खाल्डाखुल्डी भेट्न सकिन्छ ।

राष्ट्रिय योजनाको जिम्मा लिने निकायले त्यस्ता कुरालाई ध्यान दिएकै हुँदैनन् । स्थानीय तहले पनि खासै चासो राखेको देखिन्न । बरु, उनीहरु राष्ट्रिय गौरव योजना भन्दै आफ्नै वडामा भएका समस्याहरु पनि समाधानतर्फ लाग्नुको साटो पन्छिने गरेको पाइन्छ । कान्तिलोकपथ, धरान–चतराको नाम देखाउँदै जनप्रतिनिधिले दैलोअगाडिको खाल्डाखुल्डीसमेत पिच रोड देख्ने गर्छन् ।

स्थानीय सरकार जनताको नजिकको सरकार हो । २०७४ सालको स्थानीय तहको चुनाबमा नै मुल नारा राखिएको थियो घरघरमा सिंहदरबार । यसो भन्नुको मतलब गाउँ, टोल तथा वडामा भएका हरेक समस्याका समाधान अब स्थानीय तहले नै हेर्छ र गर्छ ।

जनताले पनि उस्तै अपेक्षा गरी चुनाबमा भोट दिएर नेतृत्वका लागि वडा, नगरसभा, गाउँसभासम्म पु¥याउने काम गरे । गाउँटोलमा हुने खानेपानीका समस्या, बाटो, बिजुली, शिक्षालगायतका विकास निर्माणका कार्यहरुमा स्वतः वडा कार्यालयको भूमिका रहने देखिन्छ । वडाबाट वा आफूले पठाएका जनप्रतिनिधिबाट यस्ता गतिविधिहरुको अपेक्षा गरिरहेका हुन्छन् स्थानीय ।

तर, हेटौंडा उपमहानगरपालिकाकै कुरा गर्ने हो भने जनप्रतिनिधिहरुले स्थानीयका समस्याहरु सुल्झाउन नसकेको जनगुनासो बढेको छ । वडाहरु नै ठूला योजनातर्फ लाग्ने तर, गाउँको बाटो, बिजुली र खानेपानीको समस्यामा भने चासो देखाएको पाइँदैन । वर्षा सकिनै लाग्यो । वर्षाको समयमा हेटौंडाका विभिन्न वडाका कतिपय पिच सडकमा ठूलाा भ्वाङ परेर खाल्डाहरु बने ।

गाउँतर्फका भन्दा पनि बजार क्षेत्रका प्रायः वडाहरुको बाटोको ताल देख्दा लाग्छ, यहाँ कुनै सम्बन्धित निकाय नै छैन । पानी जमेका खाल्डाले कतिखेर कसको दुर्घटना गराउने हो ठेगान छैन । हेटौंडाको वडा–६ देखि सुरु हुने त्यस्ता खाल्डाखुल्टी बजार एरियाभर छन् ।

पुलनजिक दैनिक जाम
हेटौंडा—६ को कर्रा पुलनजिक रहेको पिपलबोटअगाडि सडकमा ठूलो खाल्डो छ । खाल्डोका कारण बाटोमा हिँड्न, मोटरसाइकल र स्कुटरचालकलाई हम्मे नै पर्छ । त्यहाँ दैनिक जाम हुने गरेको स्थानीय कपिल खड्काले बताए ।

मदन भण्डारी राजमार्गअन्तर्गत् उक्त सडक मर्मत हुन सकेको छैन । वर्र्षाको समय भएका कारण त्यहाँको काम रोकिएको सडक डिभिजन कार्यालय हेटौंडाका इञ्जिनियर निरञ्जन थापाले दाबी गरे । हर्नामाडीदेखि हेटौंडा बजारसम्मको बाटो करिब तिहारसम्म सम्पन्न भइसक्ने थापाले बताए । खाल्डा परेको प्रश्नमा थापाले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । त्यस्तो हो भने तत्काल समाधानका लागि आफूहरु लागिपर्ने उनले बताए । वडा कार्यालयनजिक रहेको उक्त बाटाका खाल्डामा जनप्रतिनिधिले चासो नदेखाएको थापाको प्रतिक्रियाले देखाएको छ ।

प्रहरीकै अगाडि खाल्डैखाल्डो
हेटौंडा—६ को प्रहरी चौकी अगाडि पनि पिच सडकमा कयौं खाल्डा छन् । मोटरसाइकल÷स्कुटरचालकले त्यहाँ झ्याप्प ब्रेक हान्नुपर्ने अवस्था छ । कतिपय चालक त टाढाबाट खाल्डो नदेख्दा दुर्घटनाको मुखमै पर्ने गरेको बताउँछन् ।

दैनिक ओहोरदोहोर गर्ने राजदेवीका सुशान्त लामिछानेका अनुसार थुप्रैपटक आफू खाल्टोमा परेको र भाग्यवश ज्यान जोगाउन सफल भएको बताउँछन् । ‘दैनिक आवतजावत गर्नेलाई त मुस्किल छ । झन् पहिलोपटक आउने र कहिलेकाँही हिँड्नेलाई कति अप्ठ्यारो होला,’ उनले भने । यस्ता सानातिना कुराले कयौंले अकालमै ज्यान गुमाउनुपरेको भन्दै लामिछानेले दुःखेसो गरे । हेटौंडा–६ का जनप्रतिनिधिहरु गुमनाम रहेको र यस्ता समस्यालाई साना र झिना सम्झने भएकै कारण ठूला दुर्घटना निम्त्याउने गरेको उनको भनाइ छ ।

‘वडाको अधिकारभित्र पर्दैन’
हेटौंडा—६ का अध्यक्ष अर्जुन चौलागाईंले उक्त बाटो कान्तिलोकपथ तथा मदन भण्डारी सडकखण्डअन्तर्गत् हुँदा यसबारे आफूले केही गर्न नसक्ने बताए । राष्ट्रिय योजनाअन्तर्गत् रहेको सडकखण्डमा आफ्नो वडा तहको कुनै अधिकार नहरेको उनले जानकारी गराए ।

अधिकांश ठाउँमा खाल्डा
हेटौंडा बजार क्षेत्रभित्र पर्ने कान्तिराजपथ, पारिजातपथ, मानसचोक, कांग्रेसचोक, संगमचोकलगायत ठाउँमा हजारौं खाल्डाखुल्डी छन् । यसतर्फ कसैले ध्यान दिन सकेका छैनन् । त्यस्ता खाल्डाखुल्डीकै कारण बजारमा अचेल निकै जाम हुने गरेको पनि छ ।

हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाका अनुसार बजेट किताब बन्ने क्रम रहेको बताउँदै खाल्डाखुल्डी मर्मतसम्भार कार्य वडाले गर्ने वा नगरपालिकाले गर्ने भन्ने एकिन नहुँदा निर्माण हुन नसकेको हो ।

बजेट किताबमा वडाले समेत उक्त कार्यका लागि बजेट छु्ट्याए नगरले फेरि छुट्याउनु नपर्ने उनले बताए । नगरपालिका महाशाखा प्रमुख सत्यनारायण साहले आफूलाई यसबारे केही जानकारी नभएको र मयेरलाई सोध्न आग्रह गरे । खाल्डाखुल्डीका कारण ओभरटेक गर्ने क्रममा बजार क्षेत्रमा दुर्घटना हुने गरको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताए । समयमै सडक मर्मत नहुँदा दुर्घटनामा परेकाहरुले ज्यान गुमाउनुपरेको उनले बताए ।

पोलमा बत्ती छ, करेन्ट छैन
बाटोको मात्र होइन, समस्या हेटौंडाका अधिकांश पोलहरुमा बत्तीको समेत छ । हेटौंडा उपमहानगरपालिका वडा–१८, हर्नामाडीमा बिजुलीको पोलमा बत्ती त छ । तर, अधिकांश बिग्रिएका छन् । पोलका बत्ती बल्दैनन् । यसो हुँदा रात्रि यात्रुलाई असहज हुने गरेको स्थानीयको भनाइ छ ।

साना समस्याले ठूला घटना गराउने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयेश्वर रिमालले बताए । अधिकांश चोरीका घटना बत्ती गएको समयमा हुने गरेको उनी बताउँछन् । चोरीका घटनामात्र होइन, ठूला घटनासमेत निम्त्याउनसक्ने भएकाले स्थानीय तहले यसबारे चासो राख्नुपर्ने उनको सुझाव छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles