हेटौंडा–माउन्टेन हार्ट नेपाल र हेटौंडा–६ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा मकवानपुरका १५ स्वास्थ्य संस्थालाई अक्सिजन कन्स्ट्रेटर एवम् स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यता तथा हेटौंडा–६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईंको सभाध्यक्षतामा अक्सिजन कन्स्ट्रेटर एवम् स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
हेटौंडा–६ स्थित निर्माणाधीन सिद्धस्थली ग्रामीण सामुदायिक अस्पतालपरिसरमा भएको कार्यक्रममा बकैया गाउँपालिका–३, बागमती गाउँपालिका–२, मकवानपुरगढी गाउँपालिका–७, भीमफेदी गाउँपालिका–७, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३, ५, ६, ९, १२, १३, १४, १५, १६, १८ र १९ का स्वास्थ्य चौकीलाई अक्सिजन कन्स्ट्रेटर हस्तान्तरण गरिएको हो । कार्यक्रममा करिब ३७ लाख ५० हजार बराबरका सामग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष चौलागाईंले जानकारी दिए ।
कार्यक्रममा कांग्रेस नगर अध्यक्ष आनन्दराम पराजुली, सिद्धस्थली अस्पताल प्रतिनिधि गोमा गौतम, गौतम समाज बागमती प्रदेश अध्यक्ष होमनाथ गौतम, हेटौंडा अस्पताल सञ्चालन एवम् व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईंलगायत स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।