२ वर्षमा ५ को मृत्यु, कयौं बिरामी

–मानवी बानियाँ
हेटौंडा–नेपालमा विषालु च्याउकै कारण मृत्युदर वार्षिक १५–२० जनाको हाराहारीमा रहेको अनुमान छ । अधिकांश घटना दुर्गम ग्रामीण भेगमा हुने हुँदा अझ यो संख्या बढी हुनसक्ने देखिन्छ ।
कोरोना महामाहारीसँगै मकवानपुरको बिभिन्न भागमा कयांै नेपाली विषालु जंगली च्याउबाट आतंकित भएको अवस्था छ । हुन त हरेक वर्ष जिल्लामा मनसुनको सुरुवातसँगै जंगली च्याउसेवनबाट बिरामी हुने र मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकले देखाएको छ ।
जिल्लामा जंगली च्याउ खाएर वर्षैनी दर्जनको संख्यामा मानिस बिरामी भएका र ज्यान गएको छ । जसमा एउटै परिवारका छ जना, चार जना सदस्यसम्म रहेको प्रहरीको तथ्यांकमा छ । जिल्लाका बिभिन्न ठाउँ विशेषतः ग्रामीण भेगमा कयौं यस्ता दुःखद् घटना वर्षेनी दोहोरिइरहेका छन् । यसको नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यका तर्फबाट प्रभावकारी प्रयास हुन सकेको छैन ।
५ को मृत्यु, ११ घाइते
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक हेर्ने हो भने विषालु च्याउका कारण २०७६ सालदेखि हालसम्मको अवधिमा ५ जनाको मृत्यु भएको छ भने ११ बिरामी भएका छन् । राक्सिराङ गाउँपालिका र मनहरी गाउँपालिका बढी प्रभाविभत छ ।
२०७६ असार १३ गते राक्सिराङ गाउँपालिका–७, दराङकी १२ वर्षीया बुञ्जीमाया चेपाङ, उनका बुबा ४५ वर्षीय दीपबहादुर चेपाङ, १९ वर्षीय दाइ वज्रलाल चेपाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी गराए । बुञ्जीमायाका भाइ ७ वर्षीय पोल्टा चेपाङ भने बाँच्न सफल भए ।
जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा घटना भएको थियो । विकट क्षेत्रमा रहेका उनीहरुलाई उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिएको थियो । बुञ्जीमायालाई घरमा नै मृत घोषणा गरिएको थियो भने ३ बिरामीलाई भरतपुर अस्पताल पु¥याइएको थियो । त्यहाँ उपचारका क्रममा दीपबहादुर र दाजु वज्रलालको केही दिनपछि मृत्यु भएको प्रनि थापाले जानकारी गराए ।
राक्सिराङ–७ मा नै जेठ १७ गते कान्छीमाया प्रजाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार विहान जंगली च्याउ खाएकी प्रजाकोे घरमा मृत्यु भएको थियो । प्रहरीलाई भने १८ गते विहानमात्र खबर आएको थियो । प्रजाका पति र नातिनी पनि च्याउ खाँदा बिरामी परे । उनीहरुको उपचारका लागि मनहरी ल्याइएको थियो ।
च्याउ खोज्न गएका हीरालाल फर्केनन्
भदौ २ गते राक्सिराङ–३, लावतीका ४० वर्षीय हीरालाल वाइबालाई खोलाले बगाएको थियो । प्रहरी निरीक्षक थापाका अनुसार २ गते विहान च्याउ खोज्न गएका ५ जनामध्ये राप्तीखोला तर्ने क्रममा उनी बेपत्ता भएका थिए । ४ साथी पारि च्याउ खोज्न जाँदा वाइबालाई कपडा कुर्न वारि राखिएको थियो । तर, साथीको कुरा नमानी वाइबा खोला तर्न गए । अघिल्लो दिन भदौ १ गतेको निरन्तर वर्षाले खोलाको बहाव बढाएको थियो । खोला तर्न नसक्दा वाइबा खोलामा बेपत्ता भएका थिए ।
कयौं बिरामी
२०७६ असार ५ गते मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–८, सिम्पानीमा विषालु च्याउ खाँदा ५ जना बिरामी परेका थिए । बिरामी हुनेमा स्थानीय ७ वर्षीया अनिता बल, ९ वर्षीय महेश थोक्रा, साढे २ वर्षीया मनिषा थोक्रा, बिनिता थोक्रा र कृष्णबहादुर थोक्रा थिए । अघिल्लो दिन ४ गते विषालु च्याउ खाएर बिरामी भएका उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गरिएको थियो ।
जेठ २० गते विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका थिए । मकवानपुरको राक्सिराङ गाउँपालिका–९, खैराङमा विषालु च्याउ खाँदा अशोककुमार प्रजाको परिवार नै बिरामी परेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक रिमालका अनुसार विषालु च्याउ खाँदा बिरामी परेकाहरुको अवस्था सामान्य रह्यो । ‘खबर आएकामात्र कयौं संख्यामा छन्, यो पनि प्रहरीले आफैं चासो देखाएकाले । अझै खबर नै नआई बिरामी भएका धेरै हुनसक्छन्,’ रिमालले अनुमान लगाए । घरमा छाक टार्न च्याउको खोजीमा हिँड्ने गरेको उनको भनाइ छ ।
छाक टार्न जंगली च्याउ
बिहान–बेलुका घरका वृद्ध र बालबालिकालाई भोकै राख्न नपरोस् भनेर प्रायः मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकाका चेपाङ बस्तीका मानिसहरु दैनिक जंगलमा कन्दमुल खोज्न धाउँछन् । कन्दमुलमात्र होइन, उनीहरुले जंगलमा फलफुल खान हुने लायकका अन्य भेटेका जंगली फलसमेत ल्याउने गर्छन् । त्यही क्रममा च्याउ टिप्छन् ।
पछिल्ला केही वर्षयता च्याउ खाएर बिरामी परेका घटना हराए पनि कोरोना महामारीपछि भने संख्या बढेको छ । घरमा न अन्न पात छ न त खेतबारिमा केही उत्पादन भएको छ । काम गर्न जाउँ भने पनि सबै बन्द छ । भोक त लागिहाल्छ, कसरी पेट भर्नु भन्ने उनीहरुको प्रश्न हुन्छ ।
हरिशरण प्रजाले राक्सिराङका चेपाङ समुदायलाई विहान–बेलुका पेट भर्न समस्या हुने गरेको सुनाए । अन्न अभावले भोकै बस्न बाध्य भएका प्रजाको परिवारले पेट भर्न जंगली च्याउ खाँदा परिवारका सबै बिरामी पर्न गएको उनले सुनाए ।
भोकमरी ठूलो समस्या
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले ‘मकवानपुरको कर्णाली’ भनेर चिनिने गाउँपालिकामा भोकमरीले ठूलो समस्या निम्त्याएकै कारण स्थानीयहरु जंगल पस्ने गरेको उनले बताए । उनले हरेक वर्ष यस समस्याको सामना गर्दै आए पनि यस वर्ष कोरोना र भोकमरी दुवै एकैपटक हुँदा यसलाई नियन्त्रण र व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ ।
उनले गाउँपालिकाको जनसंख्याको ३७ प्रतिशत् चेपाङ भए पनि तामाङ समुदाय पनि गरिबीको रेखामुनि रहेको बताए । मल्लले गरिबी, खडेरी, बालीमा हाल्ने मलअभाव र कोरोनाका कारण गाउँमा भोकमरीले सताएको बताए ।
‘अन्यको तुलनामा चेपाङ बढी प्रभावित छन् । उनीहरु बाहिर गएर ठूलो रोजगारी गर्दैनन् । गाउँतिरमजदुरी गर्छन् । जंगल जाने, माछा मार्ने र गिठ्ठा खोजेर खानमै उनीहरु खुशी हुन्छन् । जसले गर्दा भोकमरीको चपेटामा पर्छन्,’ उनले भने । उनले गत वर्षको लकडाउनमा प्रदेश सरकारले १० लाख सहयोग गरेको र अन्य संघसंस्थाबाट पनि सहयोग लिएर करिब ७० लाखको राहत बितरण गरिएको बताए । तुलनात्मकरुपमा गाउँमा यस वर्ष भोकमरी बढेको भए पनि राहत बितरण गर्न गाउँपालिकामा बजेट नहुँदा सहयोग गर्ने संस्थालाई कुर्नुपरेको मल्लको भनाइ छ ।