Monday, June 5, 2023

सडक गुणस्तरीय नहुँदाका पीडा

ताजा / भरखरै प्राप्त

घण्टौं जाममा कानुन निर्माता

–निशा गुरुङ

हेटौंडा–निरन्तर वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको थिङडाँडामा पहिरो जाँदा आइतबार हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक पुनःअवरुद्ध भयो । इन्द्रसरोवर–३, थिङडाँडामा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

यी र यस्ता दुर्दशाबाट यात्री पीडित हुन थालेको निकै भयो । भदौ २ गते बागमती प्रदेशसभाको बैठक सकाएर काठमाडौं फर्किए नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईं । प्रदेशसभा बैठक हुँदासम्म डोरमणि पौडेल मुख्यमन्त्री थिए ।

काठमाडौं पुग्दासम्म प्रदेशमा मुख्यमन्त्री फेरिए । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीका रुपमा सपथग्रहण गर्दै गर्दा गोसार्इंले सामाजिक सञ्जालमा हेटांैडाबाट फर्किँदै गर्दा सडकमा अलपत्र परेका तस्बिरहरु सेयर गर्दै प्रश्न गरे–हेटांैडामा मुख्यमन्त्री परिवर्तन के विगतको असफलताको दण्ड हो ?

गोसार्इंले यसरी प्रश्न गरेर सर्वसाधारण र सांसद्हरुले भोगिरहेको सडक सकसबारे कुरा उठाइरहेका थिए । अर्थात् हेटौंडा–काठमाडौं सडकखण्डको दुर्गति । प्रदेशको राजधानी हेटांैडा बनेपछि अधिकांश प्रदेश सांसद्को चिन्ता राजधानी आउजाउ गर्ने नै हो ।

हेटांैडा–काठमाडौं बैकल्पिक छोटो दुरीको हेटांैडा—भीमफेदी, कुलेखानी, फाखेल, सिस्नेरी सडक साँघुरो र जोखिमयुक्त छ । काठमाडौंबाट हेटौंडा आउन बढीमा ४ घण्टा लाग्ने गर्छ । तर, बर्खामा सडक अवरुद्ध हुँदा हेटांैडा आउन अझ बढी समय लाग्ने गर्छ । सडकमा पहिरोको जोखिम धेरै छ । जोखिम मोलेर सांसद्लगायत प्रदेशका कर्मचारी आउजाउ गर्छन् । मनसुनको समयमा पहिरो खस्ने र बाटो कच्ची भएकाले केन्द्रीय राजधानीबाट प्रादेशिक राजधानी आउन निकै समय लाग्छ । त्यसको मारमा परेका छन् सर्वसाधारणदेखि प्रदेशसभा सांसद्सम्म ।

प्रदेशको राजधानी हेटौंडामा विमानस्थल छैन । केन्द्रीय राजधानीसँग जोड्ने सडकको अवस्था यस्तो । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको जोडबलमा हेटौंडा राजधानी त बन्यो । तर, प्रदेशको राजधानीले सांसद्लाई आकर्षित गर्न सकेन ।

२०७६ पुस २७ गते प्रदेशको स्थायी राजधानी हेटौंडा घोषणा भएको थियो । प्रदेशको राजधानी हेटौंडा राख्ने पक्षको मतदानमा हेटौंडाको पक्षमा १ सय ५ मत र विपक्षमा ३ मत परेको थियो । सत्तारुढ नेकपासहित मुख्य दलले राजधानी हेटौंडाको पक्षमा मतदान गरेपछि दुई तिहाइभन्दा धेरै मतले हेटौडा राजधानीका रुपमा कायम भएको थियो ।

्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेल कायम गरियोस् भन्ने प्रस्तावमा ३ मत प्राप्त भएको थियो । साझा पार्टीका रमेश पौड्याल, शोभा शाक्य र विराजभक्त श्रेष्ठले धुलिखेलका पक्षमा मतदान गरेका थिए । काभ्रेको विपक्षमा १ सय १ मत परेको थियो ।

हेटौंडालाई नै राजधानी बनाउन मत दिने सांसद्हरु नै हेटौंडामा बस्दैनन् । हेटौंडामा राजधानी भइरहँदा सडकको अवस्थाले काठमाडौंबाट आउने प्रदेश सांसद्लाई पनि निकै असहज भएको छ । मनसुनको समयमा ओहोरदोहोर गर्नुपर्ने सडकको बिजोग, बाटोमा पहिरो पनि त्यत्तिकै जाने सडक अवरुद्ध हुँदा प्रदेशको महत्वपूर्ण बैठकमा सहभागी हुन नपाउनेजस्ता समस्या छन् सांसद्हरु ।

्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले प्रदेशको राजधानी हेटांैडा भइरहँदा सदनमा पटकपटक सडक स्तरोन्नतिको कुरा उठाउँदै आएको बताउँछन् । तर, हालसम्म केही गर्न नसक्दा सास्ती झेल्नुपरेको उनी बताउँछन् । सडक अवरुद्ध हुँदा बजेट अधिवेशनको समयमा १२ घण्टा जाममा बस्नुपरेको उनले सुनाए ।

प्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेल कायम गरियोस् भन्ने प्रस्तावमा मतदान गरेका विवेकशील साझा पार्टीका नेता रमेश पौड्यालले हेटांैडामा राजधानी भइरहँदा धेरै सांसद्ले समस्या भोग्नुपरेको बताए । उनले सडकसमेत राम्रो बनाउन नसक्दा बर्खाको बेला सडक अवरुद्ध हुने गरेको र त्यसकारण प्रदेशसभा बैठकमा आउजाउ गर्ने सांसद्लाई गाह्रो हुने बताए । प्रदेशसभामा समितिका महत्वपूर्ण बैठकहरु हुँदा बर्खामा बाटोमा पहिरो गएर घण्टौं अवरुद्ध हुने गरेको र सांसद्हरु बाटोमा नै फस्ने गरेको उनले सुनाए ।

‘सडकका कारणले हामी समयमा पुग्न सक्दैनौं । बर्खाको समयमा हामीलाई हेटौंडाको बाटो आउँदा असुरक्षा महसुस हुनेगर्छ । यो प्रदेशका नागरिकले पनि भोग्दै आएको समस्या हो,’ उनले भने । नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता प्रभात तामाङले पहिरो जाँदा बैठक ३–४ घण्टासम्म सार्नुपर्ने बाध्यता आएको बताउँछन् । हेटौंडामा राजधानी राख्ने विषयमा दलको ‘आदेश’ आएपछि हेटौंडाको पक्षमा मतदान गर्नुपरेको उनले बताए । एमालेका नेतृ रमा आलेमगरले हेटांैडा राजधानी बनाउन नचाहेर पनि पार्टीको ‘निर्देशन’ मा मतदान गरेको बताइन् । काठमाडौंदेखि हेटौंडा आउने क्रममा बर्खाको समयमा निकै समस्या झेल्नुपरेको उनको अनुभव छ ।

धादिङ, सिन्धुली, चितवन र मकवानपुरका सांसद्हरुलाई भने हेटौंडा सहज देखिन्छ । यद्यपि, हेटौंडा, सिन्धुली घर भएका अधिकांश सांसद्समेत काठमाडौंमा बस्ने गर्छन् । उनीहरु बैठकका लागि काठमाडौंबाट ओहोरदोहोर गर्छन् । हाल १ सय ९ सांसद् रहेको प्रदेशसभामा केन्द्रीय राजधानी हुँदै हेटौंडा आउने सांसद्को संख्या ८० भन्दा बढी रहेको प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले बताए ।

प्रदेशसभा बैठक दिनहुँ चल्दा ओहोरदोहोरमा समस्या आउने भन्दै कतिपय सांसद्ले हेटांैडामा डेरा लिएर बसेका छन् । नेकपा एमाले सांसद् चन्द्र लामा, लक्ष्मण ढकाल र नेकपा माओवादी सांसद् रत्न ढकाल हेटौंडामा डेरामा बस्छन् ।

‘पहिरो जाँदा बाटोमै रोकिनु पर्छ । विहान २÷३ बजेसम्म बाटोमै बिजोग हुने अवस्था आउने भन्ने बेला हुट पनि पाइँदैन । राति अबेर हुँदा होटल नखुल्ने र कहिल्यै समयमा बैठक पुग्ने नहुनाले डेरा लिनु परेको छ,’ एमाले सांसद् लामा बताउँछन् ।

तर, सबै जना डेरा लिएर बस्ने अवस्थामा छैनन् । प्रदेशसभा बैठक सञ्चालन हुँदा होटलमा बस्नुपर्ने अवस्था छ । तर, हाल कोरोना संक्रमणका कारण होटल पाउन पनि सांसद्लाई गाह्रो छ । कांग्रेसबाट प्रदेशसभा सदस्य रहेका निमा लामा भन्छन्–विकेन्द्रिकरणको अवधारणा राम्रो हो । त्यसैले काठमाडौं वरिपरिभन्दा हेटांैडालाई चुनियो । तर, तीन वर्ष भइसक्यो । सडककै अवस्था यस्तो छ । पहुँच त राम्रो हुनुप¥यो नि । सडक सञ्जाल बनाएर भए पनि संघीयताको आभास दिलाउन सक्नुपथ्र्याे ।

लामाले प्रदेशसभा बैठकमा सडकको अवस्थाकै विषय उठ्ने गरेको बताउँछन् । ‘यहाँ आएर प्रदेशसभामा उत्साहित हुने वातावरण छैन । घण्टौंको सडक सकसपछि आइपुगिन्छ । सांसद्हरुले कुरा उठाउँछन् । यतिका वर्ष भयो । यसले संघीयताको अनुभूति दिएको छैन,’ लामाले भने ।

लामा हालको प्रदेशसभा बैठक कक्ष सातै वटा प्रदेशमध्ये सबभन्दा खराब रहेको बताउँछन् । विवेकशील साझा पार्टीका सांसद् विराजभक्त श्रेष्ठले सदनमा नै सांसद्हरुलाई ओहोरदोहोर गर्दा पछाडि बसेका सांसद् उठेर बाटो छाडिदिनुपर्ने भन्दै सभामुखको ध्यानकर्षण गराएका थिए ।

यस विषयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सोधेका थियौं–यसरी संघीयता चल्छ ? शाक्यको जवाफ यस्तो थियो–चल्दैन । शाक्य हेटौंडा राजधानी कायम भइसकेको अवस्थामा अब यहाँ विकास कसरी गर्ने भन्नेबारे सरकारले जोड दिनुपर्ने बताउँछिन् । ‘यसअघिको सरकारले के ग¥यो थाहा छैन । तर, अब संघीयता यसरी चल्दैन । सांसद्हरु यतै बस्न सक्दैनन् । बाटोको अवस्था यस्तो छ । सदन पनि सानो छ । यसको व्यवस्थापन गर्ने प्रयास गर्छु,’ उनले भनिन् ।

अघिल्लो सामग्री२०७८ भदौ १४ गते सोमबार ।
यसपछिको सामग्री२०७८ भदौ १५ गते मंगलबार ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles