सिमेन्टका स्तम्भले बढाएको आकर्षण
–मानवी बानियाँ
हेटौंडा–दामनको बाटो, पालुङ झर्दै गर्दा बाटोमा आकर्षक स्तम्भ देखिन्छ । सायद, कमैको ध्यान जाला तर, त्यो बाटो झर्दै गर्दा सबैको नजर त्यहीं पुग्छ ।
थाहा नगरपालिका वडा—४, नयाँगाउँमा त्रिभुवन राजपथकै बाटो नजिक काउली र आलुको ठूलो स्तम्भ खडा गरिएको छ । त्यहाँ ओहोरदोहोर गर्नेले आफ्ना सवारीसाधन रोकेर फोटो लिन्छन् । पर्यटकलाई आकर्षण गर्न र थाहानगरको गरिमा बढाउन नगरपालिकाले काउली र आलुको स्तम्भ खडा गरेको हो । स्तम्भमा ७० किलोको कृत्रिम काउलीसँगै ३५ किलोका दुई वटा कृत्रिम आलु राखिएका छन् । बेमौसमी तरकारी खेतीमा नाम कमाएको मकवानपुरको पालुङमा कृषिउपजको प्रतीकका रुपमा काउली र आलु स्तम्भ निर्माण गरिएको हो ।
बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा काउली स्तम्भ निर्माण गरिएको हो । स्तम्भमा राखिएका कृत्रिम काउली र आलु धनकुटामा कालीगढले तयार पारेको थाहा नगर प्रमुख लवशेर बिष्टले बताए । कृषि क्षेत्रको हबका रुपमा पहिचान भएको नगरपालिकामा यतिको स्तम्भ आवश्यक रहेको बिष्टको भनाइ छ ।
धनकुटामा सुन्तलाको स्तम्भ बनाएको सामाजिक सञ्जालमार्फत् देखेपछि वडा अध्यक्षलाई सम्पर्क गरी स्तम्भ बनाउने आइडिया लिइएको बिष्टले जानकारी गराए । त्यस सन्दर्भमा बागमती प्रदेश सरकारलेसमेत शान्ति पार्क बनाउने कार्यक्रम ल्याएको र त्यहीअनुरुप कार्यक्रम अघि बढाएको उनले जानकारी गराए ।
बिष्ट भन्छन्–शान्ति पार्ककै नाममा हाल नयाँगाउँमा थाहा पार्क निर्माणाधीन छ । थाहा पार्ककै गेटमा ती स्तम्भ निर्माण गरिएका हुन् । वाह्य तथा आन्तरिक पर्यटक आकर्षण गर्न नगरपालिकाकै योजनाअनुसार यी कामहरु सम्पन्न गरिएको उनको भनाइ छ । थाहा नगरपालिका आउने पर्यटकलाई नगरपालिकाको मुख्य पेशागत् पहिचानबारे जानकारी दिन र पर्यटन प्रवद्र्धन गर्न काउलीको स्तम्भ निर्माण गरिएको बिष्टले बताए ।
काउली र आलु स्तम्भ निर्माण गर्दा कृषि र पर्यटन दुवैको प्रवद्र्धनमा सहयोग पुग्ने उनको विश्वास छ । थाहा नगरपालिकाले कृषि, पर्यटन र पूर्वाधारलाई नगर विकासको आधार बनाएको उनको भनाइ छ ।
निर्माण समिति अध्यक्ष बिनोद केसीका अनुसार इटहरीमा निर्माणको अर्डर गरेर करिब ६ लाखमा काउली र आलु ल्याइएको हो । समुद्र सतहदेखि करिब १ हजार ८ सय मिटरको उचाईंमा त्रिभुवन राजपथको छेऊ थुम्कामा स्तम्भ राखिएको छ । स्तम्भसम्म पुग्न सिँढी बनाइएको छ । करिब ९ फिट स्तम्भमा ५ फिट लामो काउली राखिएको अध्यक्ष केसीले जानकारी दिए । काउली हरियो पातसहित फक्रक्क फूलेको अवस्थामा देख्न सकिन्छ ।
काउली स्तम्भ तयार भएपछि त्रिभुवन राजपथ भएर गुडिरहेका सवारीका यात्रुहरु सवारी रोकेर स्तम्भमा जाने र सेल्फी खिच्ने गरेको स्तम्भसँगै रहेको स्टार खाजा घरका सञ्चालक राजकुमार पन्तले बताए । उक्त क्षेत्रबाट थाहा नगरपालिकाको पालुङ क्षेत्रका हरिया फाँट तथा बस्तीहरु देख्न सकिन्छ । स्तम्भनजिक थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको स्मृतिमा निर्माण गरिएको थाहा पार्कसमेत छ ।
नजिक रिसोर्ट र होटलहरु छन् । स्तम्भ निर्माण गरिएको थुम्कामा वर्षाका कारण क्षति पुग्न सक्ने र स्तम्भलाई क्षति पुग्नसक्ने भएकोले यसतर्फ नगरपालिकाको ध्यान जानुपर्ने ऋषेश्वर सामुदायिक बन उपभोक्ता समिति अध्यक्ष हीरेन्द्र रायमाझीले बताए ।