–सुनिता बिष्ट
हेटौंडा–मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा व्यावसायिकरुपमा सिस्नु खेती सुरु गरिएको छ । गढी गाउँपालिका वडा नम्बर–७, सुकौराका किसानले अघिल्लो वर्षदेखि व्यावसायिकरुपमा सिस्नु खेती सुरु गरेका हुन् ।
सिस्नु खेतीका लागि ७ नम्बर वडाले सुरुमा १ लाख अनुदान उपलब्ध गराएको वडा कार्यालयले जनाएको छ । सिस्नुको पाउडर बनाउन आवश्यक मेसिन उपलब्ध गराइएको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले बताए ।
सुकौराका ७ किसान समूहले सिस्नु खेती गरेका हुन् । सुकौराको माथिल्लो भागको खाली जमिनमा सिस्नु खेती गरिएको ७ नम्बर वडाका कृषि प्राविधिक राजन तिमल्सिनाले जानकारी दिए । सुकौराका किसानहरु दिलबहादुर गोले, फूलमाया मोक्तान, जिल्लाबहादुर थिङ, बुद्धलक्ष्मी थिङ, शुभबहादुर स्यांतान, जुदेमाया लो र मानबहादुर मोक्तानले सामूहिक सिस्नु खेती गरेका हुन् । सुकौराका बाँझोमा सिस्नु खेती गरिएको किसान समूहका मानबहादुर मोक्तानले बताए ।
उनले भने–गाउँपालिकाको सहयोगकै कारण हामीले सिस्नु रोपेका हौं । आउने, हेर्ने र सिकाउने पनि कृषि प्राविधिकले गरिरहेका हुन्छन् । अहिले साना बोटहरु छन् । सिस्नु रोपेको एक वर्षमात्र भयो । यस वर्ष पनि बेच्न मिल्न गरी उत्पादन सुरु भएको छैन । अर्को वर्षबाट भने आम्दानी हुनथाल्छ । हरियो पात भन्दा पनि सुकाएर पाउडरमा उपलब्ध गराएर बेच्ने तरिकाले खेती गरिएको उनको भनाइ छ ।
विभिन्न रोगका बिरामीले यसको प्रयोग गर्दा शरीरमा फाइदा हुन्छ भन्ने कुरा थाहा पाएपछि सिस्नु खेती गर्न हौसला जागेको उक्त कृषक समूहकी फूलमायाले बताइन् । किसान मानबहादुर मोक्तानले किसान समूहसँग मिलेर सिस्नु पिस्ने मेसिन खरिद गरेको बताउँदै सिस्नुको धूलो बिक्रीमा गाउँपालिकाले सहयोग गर्ने जानकारी दिए ।
सिस्नुलाई लिएर अनेक तर्क र बितर्क पाइन्छ । यो कुनामा पारिएको वनस्पति हो । पहिले सिस्नु शब्द सुन्नसाथ दुःख र गरिबीसँग मजाक उडाउने विषयको तरकारीका रुपमा हेरिन्थ्यो । तर, जब रोग लाग्छ अनिमात्र यसको महत्व थाहा पाइन्छ ।
पछिल्लो समय सिस्नु धेरै रोगहरुको अचुक औषधी हो भन्ने थाहा पाए पछि सबैको लोकप्रिय बनेको छ । सिस्नुमा क्याल्सियम, प्रोटिन, भिटामिन ‘सी’, फ्याट, कार्बोेहाइड्रेट, फाइबर, फस्फोरस र आइरनजस्ता तत्व पाइन्छ । यही तथ्य बुझेर पछिल्लो समय सिस्नुले धनीहरुको भान्सामा पनि स्थान पाउन थालेको छ । साना रेष्टुराँदेखि पाँचतारे होटलसम्म यसका परिकार बन्ने गर्छन् ।
सिस्नुका फाइदा
मानव स्वास्थ्यका लागि स्वास्थ्यवद्र्धक सिस्नु ग्याष्ट्रिक, कब्जियत, पायल्स, मधुमेह, उच्च रक्तचाप, जुका र युरिक एसिडलगायतका लागि औषधि हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । विशेषगरि सिस्नु उच्च रक्तचाप, मधुमेह रोग भएका बिरामीका लागि उपयोगी मानिन्छ । यसका अलावा मानिस र पशुको हातखुट्टा भाँच्चिए सिस्नु प्रयोग गर्ने गरिन्छ ।
भिटामिन पाइने अन्य तत्व भन्दा सिस्नुमा सबैभन्दा बढी भिटामिन पाइने चिकित्सकको भनाइ छ । सिस्नुको नियमित प्रयोगबाट मिर्गौलाको समस्या, पिसाब पोल्ने, दम, बाथ रोगलाई फाइदा हुन्छ । रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम पनि सिस्नुले गर्ने स्वास्थ्यविज्ञहरुले बताउने गरेका छन् ।
महिनावारि अनियमित हुने स्त्री, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, जण्डिस, प्यारालाइसिस, पत्थरी, अल्सर, मुत्ररोग, रक्तअल्पता, नपुंसकता, बाँझोपन भएका बिरामीलाई पनि सिस्नु उपयोगी मानिन्छ । पुरुषको शुक्रकीट उत्पादन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरीरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्का पसेको, सर्काे पसेर सोला हान्ने जस्ता रोग निको पार्न सिस्नुको पाउडर प्रयोग हुने गरेको छ ।
सिस्नुलाई झोल बनाएर खानासँग प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान पनि सकिन्छ । यसमा हुने रौं जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकाले पीडादायी हुन्छ । तर, पानीमा उमालेपछि ती तत्व हराएर जान्छन् ।
सिस्नुका सोही दुर्गुणका कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ‘ए’, ‘सी’, ‘डी’, आइरन, पोटासियम, खनिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थका कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलनमा छ । यसमा रहेको प्रोटिनका कारण शाकाहारीका लागि सिस्नु अति उत्तम भोजन हो । (कष्कलग)