हेटौंडा–हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ र १८ मा बिभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा ४ सय २१ जना प्रवेश गरेका छन् ।
नेकपा एमालेको आयोजनामा पार्टी शुद्धीकरण तथा पाटी प्रवेश कार्यक्रमका अवसरमा नेपाली कांग्रेस, राप्रपा, नेकपा माओवादीलगायत पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले बताए ।
स्थानीय युवाहरु एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा क्षेत्र नम्बर–१ का सांसद् तथा अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई, एमाले केन्द्रीय सदस्य रामेश्वर राना, एमाले मकवानपुरका अध्यक्ष श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतलगायतले पार्टीमा प्रवेश गर्नेहरुलाई खादा र टीका लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर महतले स्थानीय तहमा १५ वर्षमा हुन नसकेको काम निर्वाचित जनप्रतिनिधिले गरेको बताए । मेयर महतले अहिले हरेक क्षेत्रमा विकासले प्राथमिकता पाएको बताए ।
धरान–चतरा सडक भन्दा पुरानो राजदेवीका बासिन्दालाई पीच सडक कहिले बन्ला भन्ने समस्या भए पनि हाल आफूहरुले त्यस स्थानमा पीच र सडकमा स्ल्याब ढलान गर्न करोडांै रुपियाँ लगानी गरेको उनले स्मरण गराए । हेटौंडाका हरेक वडामा विकासले प्राथमिकता पाएको मेयर महतको भनाइ छ ।
पहिले जनप्रतिनिधि नहुँदा कुनै पनि क्षेत्रको विकास हुन नसके पनि हाल विकासले गति लिएको उनले बताए । हरेक वडाका नागरिकले आफ्ना घरअगाडिका सडक पक्की गर्ने लक्ष्यसाथ काम भएको भन्दै उनले हेटौंडाका कुनै पनि स्थानमा विकास कुनै काम परे तुरुन्त गर्न आफू तयार रहेको बताए ।
कार्यक्रममा अर्थ समिति सभापति दाहालले अब पार्टी एक ढिक्का भएकाले एमालेप्रति जनलहर बढेको बताए । कार्यक्रममा एमाले मकवानपुरका नेता बद्री लम्साल, कमल बिष्ट, हेटौंडा–१७ का वडा अध्यक्ष भैरव राई, हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ, मेयर महतका राजनीतिक सल्लाहकार नरहरी महतलगायतको आतिथ्यता थियो ।