Tuesday, June 6, 2023

‘हेटौंडा बजार’ फेरि चर्कियो २५ मिटर

ताजा / भरखरै प्राप्त

–निशा गुरुङ

हेटौंडा–केही समय मत्थर बने पनि पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत् हेटौंडा बजार क्षेत्रमा पर्ने सडकको दायाँबायाँ २५–२५ मिटर बिस्तारकोे विषयले पुनः चर्चा पाएको छ ।

हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले सडक बिस्तार गरेरै छाड्नै अडान लिएपछि उक्त विषयले पुनः चर्चा पाएको हो । उपमहानगरपालिकाले हेटौंडाका मुख्य बजारका सडक फराकिलो बनाउन सघीय सरकारको ध्यानाकर्षण गरेको छ ।

उक्त राजमार्ग संघीय सरकारमातहत भएकाले छिटो भन्दा छिटो सडक फराकिलो बनाउन नगरपालिकाले ध्यानाकर्षण गराएको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमा मेयर महतले २०१३ सालमा भारत र नेपालको राजधानी जोड्ने गरी व्यापारिक मार्गका रुपमा त्रिभुवन राजपथ निर्माणपश्चात् हेटौंडा नगर भएर जाने पूर्वपश्चिम राजमार्गलगायत सडक निर्माण भएको भन्दै विगतदेखि सडकआसपास विकास भएको हेटौंडा बजार हाल तीव्र शहरीकरण हँुदै गएको एक महत्वपूर्ण नगरको हैसियतमा आइपुगेको बताए ।

‘जनसंख्या बृद्धि, यातायातसाधन बृद्धिलगायत कारण हेटौंडा बजारका मुख्य मार्गहरु अति साँघुरा र साना भएका छन् । जसका कारण सडक दुर्घटना दैनिक बढ्दो छ भने सडक साँघुरा भएका कारण सहजढंगबाट आवागमन र ब्यापारमा कठिनाइ हुँदै गएको छ,’ उनले भने ।

उनले भने–पूर्वपश्चिम राजमार्गअन्तर्गत् राप्तीपुलदेखि मनहरी बजारसम्मको सडकखण्ड र कर्रा पुलदेखि अमलेखगञ्जसम्मको सडकखण्ड दुवैतर्फ बिस्तार भइसकेको छ । बाँकी भनेको हेटौंडा बजार क्षेत्रमात्र हो । त्यसकारण अब बिलम्ब गरिनु हुँदैन । बिस्तारको काम छिट्टै अघि बढाउन उपमहानगरपालिका संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।

नगरको सुन्दरतालाई साँघुरो सडकले गिज्याएको अवस्था रहेकाले राष्ट्रिय राजमार्गहरुको स्तरोन्नति गर्ने क्रममा नेपाल सरकारले पूर्वपश्चिम राजमार्गलाई एसियन हाइवेका रुपमा विकास गर्ने लक्ष्य राखेको र सोहीअनुरुप मुलुकका अन्य शहरमा सडक बिस्तार र निर्माण कार्य भइसक्दा हेटौंडाका मुख्य सडक उही अवस्थामा रहनु नगरबासीको चिन्ताको विषय भएको मेयर महतले बताए ।

उपमहानगरपालिकाले राष्ट्रिय राजमार्गको अवधारणा र मापदण्डबमोजिम सडकको केन्द्रबाट दायाँबायाँ २५÷२५ मिटर सडक चांैडा गर्न प्रत्यक्ष÷परोक्षरुपमा आवश्यक प्रयास गर्दा वर्तमान नेतृत्व निर्वाचित भएपछि पहिलो नगरसभाले सडक फराकिलो बनाउने प्रस्ताव पारित गरी नेपाल सरकारसमक्ष अनुरोध गरेको थियो ।

मन्त्रालय र निकायहरुमा पत्राचार गर्ने कार्य पनि पटकपटक भएको र भर्खर सम्पन्न नवौं नगर सभाको बैठकले राष्ट्रिय राजमार्गको दायाँबायाँ २५÷२५ मिटर चांैडा गर्ने सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए ।

हेटौंडास्थित राजमार्ग बिस्तार गर्दा घरजग्गाको क्षतिपूर्ति नदिएर घर नभत्काउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा हेटौंडा–१० का देवीलाल श्रेष्ठसमेतले दायर गरेको रिटको परमादेश मुद्धामा सर्वोच्च अदालतको २०७५ जेठ २ को फैसलाबाट रिट खारेज भएको सन्दर्भमा सडक बिस्तार योजना कार्यान्वयनमा सहजता भएको देखिने उनको दाबी छ ।

केन्द्रबाट दायाँबायाँ ३१ मिटर छाडेर घर बनाउनुपर्नेमा सो नछाडी घरटहरा निर्माण गरेका नगरबासीले ‘नेपाल सरकार र नगरपालिकालाई आवश्यक पर्दा बिनामुआब्जा नगरपालिकाको नियमानुसार गरिदिने’ कबुलियतनामा गरिदिइएका २ सय ८८ घर रहेको मेयर महतले जानकारी दिए । त्यसपछि नगरपालिकाले सडकको दायाँबायाँ घरटहरा बनाउन अनुमति दिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रोहबरमा तत्कालीन समयमा धरधनीले उक्त कबुलियतनामा हस्ताक्षर गरेका छन् । कबुलियतनामा सुरक्षित रहेको उपमहानगरपालिकाले जनाएको छ । वडा नम्बर–१ को ६०, २ को ४८, ३ को १२, ४ को ५२, ८ को ६३ र १० का ५३ जना घरधनीले सम्झौतामा हस्ताक्षर गरेको अभिलेख फेला परेको छ । उक्त सम्झौतापत्रअनुसार हाल उपमहानगरपालिकाले पत्राचार गरेकै आधारमा घरधनीले आफ्नो घर आफ्नै स्रोतको प्रयोग गरी भत्काउनुपर्ने देखिन्छ । तर, सो क्षेत्रका अधिकांश घरधनीले अर्कै व्यक्तिलाई घरजग्गा बिक्री गरिसकेका छन् ।

हेटौंडा बजारको मुख्य सडक, सडक ऐन २०३१ अनुसार ५० मिटर सडक चौंडा हुँदा हेटौंडा बजारको आर्थिक समृद्धिको ढोका खुल्नुका साथै अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन हुने मेयर महतको कथन छ ।

राष्ट्रिय राजमार्गको दायाँबायाँका प्रभावित घर भत्कने हल्लाले लामो समयदेखि मुख्य बजार क्षेत्रमा घरजग्गा खरिदबिक्री हुन सकेको छैन । नयाँ संरचना निर्माणको क्रम रोकिँदा दशकौंअघि बनेका जीर्ण भवनले राजमार्ग सडकको दायाँबायाँका भाग ओगटेका छन् । भवन तथा संरचना बैंकले धितो राख्न मान्दैन । घर मर्मत र थप निर्माण गर्न अनुमति पाइन्न ।

‘प्रदेश राजधानी रहेको हेटौंडा बजारको मुख्य दृष्य कुरुप बन्न पुगेको छ,’ मेयर महतले भने–सरकारले सडक सीमा मिचेर निर्माण गरिएका घरटहरा भत्काउन शुरु गरे उपमहानगरपालिकाले बजार र सडकआसपास सरसफाइ र सुन्दरताका लागि नगरबासीसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाउँदछ ।

सडक डिभिजन कार्यालयले २०६९ भदौ १५ बाट महेन्द्र राजमार्गको धन्सार पुल (बारा) देखि लोथर (मकवानपुर) सम्म तथा त्रिभुवन राजपथको बीरगञ्ज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्म राजमार्ग र राजपथको दाँयाबायाँ २५÷२५ मिटर सडकसीमा अतिक्रमण क्षेत्र १५ दिनभित्र हटाउन भन्दै दर्जनौं पटक सूचना जारी गरिसकेको छ । तर, बिस्तारको काम अझै अघि बढ्न सकेको छैन ।

विशेषगरि विगतमा तराई क्षेत्रमा भएको मधेश आन्दोलन र पछिल्लो समयमा प्रदेश राजधानी घोषणासँगै अनुकूल वातावरणीय हावापानी र विकास हँुदै गरेको पूर्वाधार र सुविधाका कारण नगरमा अधिक बसाइँसराइको क्रम बढ्दै गएको छ ।

हेटौंडा उपमहानगरपालिका बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका र प्रादेशिक राजधानी रहेको मुलुकको केन्द्रभागमा अवस्थित उपमहानगरपालिका हो । मेची–महाकाली जोड्ने महेन्द्र राजमार्ग, उत्तर दक्षिण जोड्ने त्रिभुवन राजपथ, हेटौंडा–धरान चतरा जोडने मदन भण्डारी मार्गका साथै उपत्यका प्रवेशका रुपमा विकास गरिएको कान्तिलोकपथलगायत थुप्रै सडकसञ्जालले समेटिएको र सम्भावना बोकेको शहर हो हेटौंडा ।

पछिल्लो समयमा शैक्षिक हवका रुपमा स्थापित नगरमा प्रादेशिक संरचनाअनुसार प्रदेश मन्त्रालय, निर्देशनालयलगायत प्रदेशस्तरीय बिभिन्न निकाय तथा कार्यालय स्थापनाले नगरको आकर्षण बढ्दै गएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles