‘वार्ताबाट मात्र शान्ति हुन्छ’
–सुनिता बिष्ट
हेटौंडा–हेटौंडा–७, न्युरेनीका एक स्थानीय । पेशाको परिचय दिनुपर्दा कानुन व्यवसायी अधिवक्ता, पत्रकार र जनसरोकार केन्द्र मकवानपुर संयोजक पनि । त्यतिमात्र नभएर उनको एउटा अर्को छुट्टै पहिचान पनि छ । त्यो हो–वार्ताबाट मात्र शान्ति हुन्छ अभियानका एकल अभियन्ता ।
व्यावसायिक परिचयले भन्दा पनि सामाजिक परिचयले प्रख्यात बनेका व्यक्ति हुन् ध्रुव चौलागाईं । २०२६ असारमा जन्मिएका चौलागाईं ३५ वर्ष उमेरदेखि उक्त अभियानका एकल अभियन्ता हुन् । १७ वर्षदेखिको उनको यो अभियान निरन्तर छ ।
न्युरेनीमा उनको घर छ । घरको गेटमा लेखिएको छ–वार्ताबाट मात्र शान्ति हुन्छ । २०६१ सालदेखि ‘वार्ताबाट मात्र शान्ति हुन्छ’ अभियानमा लागेका चौलागाईंले २०६२ सालमा न्युरेनीमा घर बनाए । घरमा आउने मानिसले ढोकाबाट एउटा राम्रो सन्देश ममन् गरुन् भनेर उनको अभियानको नारा ‘वार्ताबाट मात्र शान्ति हुन्छ’ फलामको गेटमा फलामले नै नारा लेखेका छन् ।
२०६१ सालतिर देशमा भइरहेको अशान्ति, बन्द, हड्ताल, अपहरण अर्थात् तत्कालीन माओवादीले मच्चाएको ‘अशान्ति’ रोक्न सकिन्छ कि भन्दै उनले एकल अभियान सुरु गरेका हुन्–वार्ताबाट मात्र शान्ति हुन्छ नाराको अभियान ।
बन्द, हड्तालले आकुलव्याकुल भइसकेका नेपालीलाई फरक प्रकारको सन्देश दिएर कसरी देशमा शान्ति ल्याउन सकिएला भन्ने सोचले आफूले अभियान थालेको स्मरण गर्दै १७ वर्षअघि सुरु गरिएको नारा सबैलाई प्रभावकारी हुने गरेको उनी बताउँछन् । उतिबेला पनि मोटरसाइकलको अगाडि उनले एउटा स्टिकर बनाएर टाँसेका । स्टिकरमा पनि लेखिएको थियो–वार्ताबाट मात्र शान्ति हुन्छ ।
१७ वर्षअघिको स्मरण गर्दै अधिवक्ता चौलागार्इंले भने–देशमा हत्या÷हिंसा बढिरहेको बेला ठाउँठाउँका चेकिङपोष्टमा बसेका प्रहरी स्टिकर पढेर मुसुक्क हाँस्थे । अनि भन्थे–साँच्चै वार्ता भइदिए देशमा शान्ति हुन्थ्यो होला । हामीलाई ज्यान जोगाउन यति मुस्किल हुँदैनथ्यो होला । तपार्इंको जस्तै सोच राजनीति गरिरहेका नेताहरुको हुने हो र साँच्चै वार्ता हुने हो भने सबै सम्भव हुन्थ्यो होला ।
माओवादीको आक्रमणले देश रोइरहेको बेला यसरी अभियानमा लाग्नु चौलागार्इंका लागि निकै चुनौतीपूर्ण थियो । तर, उनीविरुद्ध आवाज उठाउने कोही थिएनन् । सबैले उनकै कुरालाई साथ दिन र साँच्चै वार्ता भए हुन्थ्यो । डर र त्रास कहिले सकिएला भन्नेमा सोच्न थाले ।
‘वार्ताबाट मात्र शान्ति हुन्छ’ अभियानले देशमा शान्ति ल्याउनुपर्छ भन्ने सोचाले उनले कागजी छाप लगाए । पर्चा बनाएर ठाउँठाउँमा टाँसे । त्यतिमात्र होइन, उक्त नाराले राजनीतिक दललाई झकझक्याउनसमेत सहयोग गरेको उनको ठम्याईं छ । विश्व इतिहासमा द्वन्द्व सामाधान वार्ताकै माध्यमले भएकाले नेपालमा पनि वार्ता र संवादबाट नै समाधान खोज्न दबाब दिने उद्धेश्यले अभियान थालिएको चौलागाइं बताउँछन् ।
चौलागाइंको करिब दुई दशक लामो अभियान हाल पनि जारी छ । हाल पनि देशमा शीर्ष नेताहरुको विवाद चुलिएको छ । एक पार्टीले अर्को पार्टीलाई आरोप÷प्रत्यारोप लगाउने क्रम रोकिएको छैन । भौतिक द्वन्द्व नभए पनि मनमुटाव रोकिएको छैन । यस अवस्थामा राजनीतिक दलहरुलाई यतिबेला वार्ता नै आवश्यक रहेको चौलागाईंले सुझाव दिएका छन् ।
वार्तामा नजाने तर भित्रभित्रै एकले अर्कालाई दोष दिनु भन्दा शान्तिका लागि वार्ता नै एउटा प्रमुख पाटो भएको उनी बताउँछन् । हाल राजनीतिक दलहरुको विवादित अवस्थालाई केन्द्रित गर्दै उनले भने–मेरो अभियान ‘वार्ताबाट मात्र शान्ति हुन्छ’ सधैं सबैलाई काम लाग्ने एउटा नारा हो । सुन्दा सामान्य लागे पनि यसलाई पालना गर्न सक्ने हो भने देशमा कहिल्यै अशान्ति हुने छैन । त्यतिमात्र होइन, एउटा सानो घरझगडामा किन नहोस्, बसेर सल्लाह गरियो भने त्यही कुरा सामान्य अवस्थामा समाधान हुन्छ, नत्र त सानो कुराले पनि ठूलो रुप लिन सक्छ । अभियानले समाजमा परिवर्तन ल्याउन सकियोस् भनेर ‘वार्ताबाट मात्र शान्ति हुन्छ’ अभियान निरन्तर चलाइने चौलागाईंको प्रतिवद्धता छ ।