निशा गुरुङ
हेटौंडा–केन्द्रमा एमालेभित्रको द्वन्द्व सडकमा पोखिँदा बागमती प्रदेशमा भने भेल रोक्ने संघर्ष चल्दै थियो । यही रसाकस्सीमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री बन्दैछिन् भन्ने कसैलाई पत्तो थिएन ।
डोरमणि पौडेल नेतृत्वको सरकारमाथि निरन्तर आक्रामकरुपमा प्रस्तुत हुँदै आएकी झलनाथ खनाल–माधवकुमार नेपाल समूहको नेतृत्वकर्ता अष्टलक्ष्मी शाक्य अचानक ‘युटर्न’ हुँदै ओली समूहकै सहयोगमा बागमती प्रदेशी मुख्यमन्त्री बनेकी छन् । तर, उनले ओली र माधव नेपाल दुवै नेताहरुको सहयोगमा मुख्यमन्त्री बनेको दाबी गर्दै आएकी छन् ।
करिब ४२ महिना पहिल्यै प्रयास गर्दा हासिल गर्न नसकेको मुख्यमन्त्री पद अहिले अचानक उनकै भागमा पर्दा धेरैले उनलाई माधव नेपालको साथ छोडेबापत् पद पाएको भन्दै आरोप लगाइरहेका छन् ।
पछिल्लो समय एकता पक्षधर मध्यमार्गी समूहमा सामेल भएकी शाक्य आफूलाई पौडेलले पहिलेदेखि मुख्यमन्त्री बनाउन प्रस्ताव गरे पनि प्रदेश सरकारको समयावधि डेढ वर्षमात्र रहेको हुँदा आफू मुख्यमन्त्री बन्न नचाहेको बताउँदै आएकी शाक्यले नेकपा एमाले एकतावद्ध बनाउन आफूले परिस्थितिलाई व्यवस्थापन गरेको तर्क गरेकी छन् ।
शाक्यको निर्णय
स्रोतका अनुसार कांग्रेस, माओवादी मिलाएर माधव पक्षकै प्रदेश सांसद् मुख्यमन्त्री बन्न लविङमा लागेको सुइँको पाएपछि शाक्यले रणनीतिक कदम चालेकी थिइन् । निर्वाचन आयोगमा माधवकुमार नेपाल समूहले दल दर्ता गर्दासम्म उनी ओली वा नेपाल समूहमा खुलेकी थिइनन् । एमाले नेतृत्वमा रहेको बागमती प्रदेशको मुख्यमन्त्री बनेपछि उनीविरुद्ध पदलोलुप बनेको आरोपसमेत लाग्यो । यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिँदै भनेका थिए–पार्टी जोगाउनु छ, पद, प्रतिष्ठा ठूलो होइन ।
पार्टी एकताका निम्ति पद त्याग्न डोरमणि तयार त भए । तर, अझै पनि एकता निश्चित भएको छैन । बागमती प्रदेशमा कोही पनि एमाले सांसद्हरु विभाजनको पक्षमा नखुलेको भए पनि अष्टलक्ष्मीको सरकार धरापमै छ ।
माधव पक्षीय भनेर चिनिएका २२ जनामध्ये प्रस्तावित दलमा बागमती प्रदेशबाट ८ जनाको नाम परेको छ । तर, एकतालाई जोगाउनुपर्ने भन्दै अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, कृष्णप्रसाद खनाल नयाँ दलमा सहभागी भएनन् ।
राजेन्द्र पाण्डे, रमा आले, मुनु सिग्देल, रचना खड्का नेकपा (एकीकृत समाजवादी) मा केन्द्रीय सदस्य बसेका छन् । बलराम बाँस्कोटा राष्ट्रियसभा सदस्य हुन् । माधव पक्षीय नेता कृष्णप्रसाद भुर्तेल, केशबप्रसाद पोखरेल, प्रकाश श्रेष्ठ, रमा आले क्याम्प फेरेर ओलीतिर लागेका छन् । ओली क्याम्पबाट बसुन्धरा हुमगार्इं र रामवीर मानन्धर माधवतिर लागेका छन् ।
बागमतीमा एमालेका ५६, माओवादीका २३, कांग्रेसका २२ र अन्य दलका ८ जना सांसद् छन् । माधव पक्षको नयाँ दलले मान्यता पाउँदासम्म उनको पक्षमा लागेका २२ सांसद्ले साथ नछाडेमा एमाले प्रदेश सरकारबाट सजिलै पाखा लाग्ने देखिन्छ । माधवको एकीकृत समाजवादी दल, कांग्रेस र माओवादी मिलेमा नयाँ सरकार बन्नसक्ने अवस्था छ ।
सांसद्हरु हरिशरण लामिछाने र पशुपति चौलागार्इंको निधनपछि बागमती प्रदेशमा एमालेका ५६ सांसद् छन् । १ सय ९ सांसद् रहेको प्रदेशमा सरकार बनाउन ५५ जना भए पुग्छ । तर, नयाँ दलले मान्यता पाएपछि दुईमात्र सांसद् त्यता लागे सरकार ढलपल बन्नेछ ।
एकताको सन्देश दिएको दाबी
एमाले बागमती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेल प्रदेशले एमालेलाई एकतामा बाँध्न सन्देश दिएको दाबी गर्छन् । ‘पार्टी जोगाउन हामी मिलेका हौं,’ उनले भने–बागमती प्रदेशका सांसद्हरु हाल यो समूह, त्यो समूहमा भन्ने छैन, १÷२ जना बाहेक सबै मिलिसकेका छौं ।
प्रदेश सांसद विजय सुबेदी आपसी समझदारीमा आन्तरिक विवाद मिलाएर बागमती प्रदेशले महत्वपूर्ण काम गरेको बताउँछन् । ‘पार्टी फुटाएर हित कसैको हँुदैन,’ उनले भने–एमाले एकतावद्ध गराउन सबैको योगदानको खाँचो छ ।
अन्तिम समयमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरुको अग्रसरतामा शुक्रबार काठमाडौंमा भएको भेलामा ५७ जना नेता तथा सांसद्हरु सहभागी बने । भेलामा मुख्यमन्त्री शाक्य पनि सहभागी थिइन् । शाक्यसहित ९ नेताद्वारा जारी वक्तव्यमा पार्टी एकताको आह्वान गरिएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, माधव नेपाललगायत १४ सांसद्माथि गरिएको कारबाही फिर्ता गर्नुपर्नेलगायत माग उक्त समूहले अघि सारेको छ ।
प्रदेशका को सांसद् कता ?
ओली पक्षः डोरमण्ी पौडेल, अजयक्रान्ति शाक्य, आशमाया तामाङ, केशबराज पाण्डे, केशब स्थापित, कैलाशप्रसाद ढुंगेल, गणेशप्रसाद दुलाल, गोमा भुर्तेल, चन्द्र लामा, चेतनाथ सञ्जेल, जुनेलीमाया श्रेष्ठ, दाजा दोर्जेलामा, दीपक निरौला, नारायणप्रसाद सिलवाल, प्रदीपकुमार कटुवाल, बद्री मैनाली, बेलीमैया घले, मनिराम फुयाँल, मैना अछामी, योगेन्द्रराज संग्रौला, राजेश शाक्य, रामकुमार अधिकारी, रामेश्वर फुयाँल, विजय सुबेदी, बिनोदकुमार खड्का, शशिजंग थापा, शान्ति थिङ, सरस्वती बस्नेत, सरस्वती बाटी, सरेश नेपाल, सानुकुमार श्रेष्ठ, सीता लामा, ज्ञानेन्द्र शाक्य, कृष्णप्रसाद भुर्तेल, प्रकाश श्रेष्ठ, केशवप्रसाद पोखरेल, रमा आले ।
माधव पक्षः राजेन्द्रप्रसाद पाण्डे, मुनु सिग्देल, रचना खड्का,
तटस्थः अष्टलक्ष्मी शाक्य, अरुणप्रसाद नेपाल, इन्द्रमाया गुरुङ, उर्मिला कर्माचार्य, कुसुमकुमार कार्की, कृष्णप्रसाद खनाल, जीवन खड्का, देवकी श्रेष्ठ, पार्वती सिलवाल, माधवप्रसाद पौडेल, मीना ज्ञवाली नेपाल, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, शान्तिप्रसाद पौडेल, बसन्तप्रसाद मानन्धर, बसुन्धरा हुमागाईं ।