भर्ना नै भएनन् मुख्यमन्त्रीका “छोराछोरी”

हेटौंडा–बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले २०७५ बैशाख ५ गते दुई बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरी विद्यार्थी भर्ना राष्ट्रिय अभियान शुरु गरेका थिए । मकवानपुरको पश्चिम मनहरी गाउँपालिकाका आर्थिक अवस्था कमजोर रहेका परिवारका तामाङ बालक, चेपाङ बालिकालाई विद्यालयमा भर्ना गरिएको थियो ।
नेपाल सरकारले गरेको अभियानअन्तर्गत् उनले मनहरी गाउँपालिका–६, सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मनहरी–६, जोगीटारका ६ वर्षीय सञ्जित ब्लोन र मनहरी–६, चौकीटोलकी ६ वर्षीया जेसिका प्रजालाई कक्षा–१ मा भर्ना गरिदिए । र, छोराछोरीलाई विद्यालयमा पढाउन आर्थिक समस्या झेल्दै आएका चेपाङ र तामाङ परिवार मुख्यमन्त्री पौडेलले छोराछोरी पढाइदिने भएपछि खुब खुशी भए ।
भीमबहादुर ब्लोन र शर्मिला ब्लोनका २ छोरा र १ छोरीमध्ये सञ्जित कान्छा छोरा हुन् भने ज्ञानबहादुर प्रजा र हरिमाया प्रजाका ५ छोरी र ३ छोरामध्ये जेसिका कान्छी हुन् । मुख्यमन्त्री पौडेलले बालबालिकाहरुका लागि विद्यालय पोशाक, जुत्ता, स्कुल ब्याग, किताब तथा स्टेशनरी सामग्रीको व्यवस्था गरेका थिए ।
मुख्यमन्त्री पौडेलले बालबालिका भविष्यका कर्णाधार भएकाले परिवारको आर्थिक अबस्था कमजोर भएकाको पढाउने खर्च ब्यहोर्न सचेत नागरिक जिम्मेवार हुनुपर्ने बताएका थिए । उनले दुई विद्यार्थीबीच फोटो पनि खिचाए । तर, आफूले “छोराछोरी” मानेका हाल ती विद्यार्थी के गर्दैछन्, कहाँ छन् भन्ने कुरा मुख्यमन्त्री पौडेललाई सायद थाहा छैन । उनले तीन वर्ष अवधिमा भर्ना भएको दिन र केही समयसम्म मात्र सोधीखोजी गरे ।
२०७५ सालमा सरकारले विद्यालयबाहिर रहेका बालबालिकालाई कक्षाकोठासम्म ल्याउन र भर्ना भएकै दिन पूरा सेट पाठ्यपुस्तक उपलब्ध गराउने उद्धेश्यसाथ अभियान घोषणा गरेको थियो । त्यहीअनुरुप मकवानपुरमा पनि जनप्रतिनिधि तथा विभिन्न निकायमा व्यक्तिहरुले भर्ना गरेका हुन् । जसमा मकवानपुरबाट ८८ जनाले अभिभावकत्व लिएका थिए ।
मन्त्रीदेखि सांसद्, वडा अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा जिल्ला प्रमुखहरु अभिभावकत्वमा संलग्न थिए । अभिभावकत्व ग्रहण गरिसकेपछि उनीहरु झारा टार्न एक÷दुई पटक भेट्न गएजस्तो गरे । तर, त्यसपछि उनीहरु न विद्यालयको सम्पर्कमा छन्, न त विद्यार्थीको । अन्य समय त के कोरोनाको महामारीको समयमा पनि ती जिम्मेवार कहलिएका अभिभावकले आफ्नो अभिभावकत्वमा रहेका बालबालिका भेट्न त परै जाओस्, फोनमा सम्पर्कसमेत गरेनन् ।
विद्यार्थी भर्ना भएनन्
मुख्यमन्त्री पौडेलले भर्ना गर्दा जेसिका दुई कक्षामा थिइन् । हाल उनी ५ मा गइन् भने सञ्जित कक्षा एकमा थिए । उनी हाल चार कक्षाका पुगेका छन् । विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर मोक्तानका अनुसार यस वर्ष उनीहरु भर्ना गर्नै आएका छैनन् ।
असारमा भर्ना खुलाएकोमा हालसम्म उनीहरु सम्पर्कमा नआएको मोक्तानले बताए । “उनीहरुको अवस्था निकै नाजुक छ, मुख्यमन्त्रीज्युले भर्ना त गर्नु भयो तर फर्केर आउनु भएन,” उनले भने । सञ्जित पढ्न तेजिला छन् । सञ्जितको तुलनामा जेसिका पढ्न कही कमजोर रहेको उनले बताए ।
“आर्थिक समस्या हो,” मोक्तानले बताए । मुख्यमन्त्री पौडेल दुई बालबालिकालाई भर्ना गरेपश्चात् दुईपटक विद्यालय पुगेको मोक्तानले बताए । पौडेलले २ बालबालिकालाई कतिसम्म अभिभावकत्व प्रदान गर्ने भने थाहा नभएको मोक्तान बताउँछन् । अब किन भर्ना हुन नआएको भन्ने कुरा विद्यालयले खोजी गर्ने मोक्तानले बताए ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले हेटौंडा—२ को सिद्धार्थ माविबाट अभिभावकत्व लिएका रौतहट जिल्लाका निराकार रायमाझी र लीलाकर रायमाझी हुन् । निराकार कक्षा–९ मा पुगेका छन् भने लीलाकर कक्षा–८ मा गएको विद्यालयले जनाएको छ ।
विद्यालयमा भर्नापछि मन्त्री सम्पर्कमा नआएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले बताए । “विद्यार्थीलाई छुट्टै भेटेको भए कुन्नि, नत्र हाम्रो सम्पर्कमा भने आउनुभएको छैन,” शर्माले भने । हाल ती विद्यार्थीको अबस्था सामान्य रहेको शर्मा बताउँछन् ।
राष्ट्रियसभा सदस्य रामचन्द्र राईले हेटौंडा–१७, हटियामा लक्ष्मी निमाविमा अभिभावकत्व लिएका सामुयल दर्नाल हुन् । बालकक्षामा राईले भर्ना गरेका दर्नाल तीन कक्षामा अध्ययनरत् हुँदाहँुदै हेटौंडा बजारनै बसार्इं सरेर गएको प्रधानाध्यापक यदुदय उपाध्यायले जानकारी गराए । दर्नाल पढ्नमा चलाख रहेको उनले प्रतिक्रिया दिए । उनी बसार्इं सरेर गएपछि केही थाहा नभएको उनले बताए ।
प्रतिनिधिसभा सांसद् विरोध खतिवडाले महेन्द्रकिरण मावि मनहरीबाट अभिभावकत्व लिएका दशवीन थिङ र विश्वास थोेकर दुवै ५ कक्षामा गएका छन् । प्रदेशसभा सांसद् मुनु सिग्देलले अभिभावकत्व लिएकी कविता पाख्रिन हुन् । उनी हाल कक्षा–७ मा अध्ययनरत् छिन् । विद्यालय शिक्षक ज्ञानेन्द्र बर्तौलाका अनुसार सांसद् सिग्देल भेट्न नआए पनि विद्यालयलाई फोन सम्पर्क गरेर हरेविचार गर्न आग्रह गरेकी छन् ।
सोही विद्यालयबाट जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले अभिभावकत्व लिएका विद्यार्थी आर्यन सुनार हुन् । उनको पनि उस्तै सोधपुछमात्र रहेको बर्तौलाले जानकारी गराए । विद्यार्थीको अबस्था सामान्य रहेको उनले बताए ।
प्रदेशसभा सांसद् ओम घलानले महेन्द्रकिरण माविबाट अभिभावकत्व लिएका सुनिल चेपाङ कक्षा–५ मा अध्ययनरत् छन् । महेन्द्रकिरणका प्रधानाध्यापक राधेलाल मण्डलका अनुसार भर्नापश्चात् सांसद् घलान सम्पर्कमा आएका छैनन् । हाल विद्यार्थीको अबस्था “सामान्य रहेको” उनले अनुमान लगाए ।
जनप्रतिनिधिले भर्ना गर्ने क्रममा एकै विद्यालयमा तीन कार्यालयका जिल्ला प्रमुखले समेत विद्यार्थी भर्ना गरेका थिए । जिल्ला समन्वय समिति प्रमुख खुलालले हेटौंडा–९ को दिव्यज्योति प्रावि बेतखोल्सीबाट अभिभावकत्व लिएका सृष्टिना स्यांतान र आइतेसिं थिङ हुन् । सृष्टिना कक्षा–६ मा छिन् भने आइते चार कक्षामा अध्ययनरत् छन् । विद्यालयका प्रधानाध्यापक रश्मि घिमिरेका अनुसार पहिला त जिल्ला समन्वय समिति प्रमुख खुलाल सम्पर्कमा थिए । तर, हाल कोरोना महामारीपछि सम्पर्कमा आएका छैनन् ।
मकवानपुरका पूर्वप्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले उक्त विद्यालयबाट अभिभावकत्व लिएका आकृति रासकोटी कक्षा चारमा अध्ययनरत् छिन् । मकवानपुरका पूर्व प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले अभिभावकत्व लिएका आयुष्मा रानामगर कक्षा–६ मा रहेको घिमिरेले जानकारी गराइन् । हाल अभिभावकत्व लिएका प्रमुख नभएको अबस्थामा विद्यालयले नै हेरिरहेको उनले बताइन् । भीमफेदी गाउँपालिका प्रमुख हिदम लामाले महालक्ष्मी मावि सुपिङबाट अभिभावकत्व लिएका सिर्जना प्रजा र सोहित मिजार हुन् । सिर्जना कक्षा पाँचमा अध्ययनरत् छिन् भने सोहित सातमा ।
बागमती गाउँपालिका प्रमुख सर्केश घलानले बागमती निमावि राईगाउँबाट अभिभावकत्व लिएका प्रशान्त माझी हुन् । प्रशान्त ४ कक्षामा अध्ययनरत् छन् । पछिल्लो समय गाउँपालिका प्रमुख घलानले सम्पर्क नगरेको विद्यालयका प्रधानाध्यापक गोकर्ण थापाले जानकारी गराए । प्रशान्तको अबस्था सामान्य रहेको थापाले बताए ।
विद्यालयका शिक्षकको प्रतिक्रियाबाट देखिन्छ कि अभिभावकत्व ग्रहण गरेका सबै जिम्मेवार निकायकाले निर्वाह गरेका भूमिका । कोही भर्नापश्चात् एक–दुई पटक झारा टार्नमात्र विद्यालय पुगेका छन् भने कोही फोनकै सम्पर्कको भरमा छन् ।
अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम देशभर चलिरहँदा मकवानपुरमा भने देखावटीमात्र रहेको पुष्टि यसले गरेको छ । कोरोना महामारीबाट मात्र नभएर अन्य समयका समस्यामा पनि बालबालिकामा केकस्ता असर परेको छ भन्ने कुरा एक अभिभावकको चासोभित्र रहन्छ । तर, मकवानपुरमा भने जिम्मेवार व्यक्ति आफ्नो जिम्मेवारीबाट पर भागेको देखिन्छ ।
बालबालिकाले अभिभावकबाट राम्रो–नराम्रो दुवै समयमा साथ र सहयोगको अपेक्षा गरेका हुन्छन् । झन विश्वभर फैलिएको कोरोना महामारीमा बालबालिकालाई हरेक पक्षबाट साथको आबश्यकता छ । तर, मकवानपुरका केही बालबालिकाले भने आफ्नो अभिभावकत्व ग्रहण गरेकाबाट त्यो साथ पाउन सकेका छैनन् । केही वर्षअघि अभिभावकत्व ग्रहण गरेकाहरुले आफ्नो जिम्मेवारी बिर्सिएपछि बालबालिका महामारीमा पनि आफ्नो अभिभावकको साथ र सहयोगबाट बञ्चित भएका हुन् ।