
हेटौंडा–मकवानपुरमा पछिल्ला दिनमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या निकै बढ्दै गएको छ । मकवानपुरमा पछिल्लो २४ घण्टामा ४ सय ३२ जनामा कोरोना पुष्टि भएको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा रहेकोे बालगृहका २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको एन्टिजेन परीक्षणबाट २२ जनामा कोरोना पुष्टि भएको हो ।
बालगृहका कर्मचारी र बालबालिकामा गरिएको एन्टिजेन परीक्षणमा २ कर्मचारी र २० बालबालिकामा पोजेटिभ देखिएको भीमफेदीका स्वास्थ्य संयोजक रामनाम थिङले जानकारी दिए । कोरोना पुष्टि भएकालाई छुट्टै ठाउँमा राखिएको जनाइएको छ ।
क्षेत्रीय कारागारका रुपमा विकास गरिएको मकवानपुरस्थित भीमफेदी गाउँपालिकामा रहेको भीमफेदी कारागारका अघिल्लो दिन ठूलो संख्याका कैदीबन्दीहरुमा कोरोना पुष्टि भएको थियो ।
कारागारको ब्लक “क” र ब्लक “ख” मा गरी ९ सय ६८ कैदीबन्दी र ८ कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको भीमफेदी गाउँपालिका स्वास्थ्य संयोजक थिङले जानकारी दिए । पुष्टि हुनेको संख्या कारागारका कैदीबन्दीको तीस प्रतिशत्भन्दा बढी हो ।
्
कोरोना पोजेटिभ देखिएका कैदीबन्दीलाई स्वास्थ्य सावधानी अपनाएर अलग राखिएको बताइएको छ । कारागारमा रहेका अधिकांश कैदीबन्दीलाई कोरोना खोप कोभिसिल्ड लगाइसकिए पनि खोप लगाएका तथा नलगाएका दुवैलाई कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
बुधबार र बिहीबार गरिएको परीक्षणमा कैदीबन्दीमा कोरोना पुष्टि भएको उनले बताए । कैदीहरुलाई उक्त कारागारबाट अर्को कारागारमा स्थानान्तरण गर्ने क्रममा भीमफेदीबाट काठमाडौं स्थानान्तरण गरिएका १५ मध्ये ५ कैदीमा कोरोना पुष्टि भएको जानकारीपछि भीमफेदी कारागारका सम्पूर्ण कैदीबन्दीमा कोरोना परीक्षण गरिएको थियो । पुष्टि भएका संक्रमितहरुमा हाल लक्षण नदेखिए पनि पुष्टि भएका संक्रमितलाई कारागारभित्र अलग आइसोलेसनमा राखिएको उनले बताए ।
मकवानपुरमा पछिल्लो २४ घण्टामा १ सय ३० जनाको पीसीआर र १ हजार १५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ६६ र ३ सय ६६ गरी ४ सय ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा सबैभन्दा बढी भीमफेदी गाउँपालिकाका छन् । भीमफेदीस्थित भीमफेदी कारागारका ३ सय ५५ कैदीसहित ३ सय ६२ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडाका ५७ जना, मनहरीका ६ जना, मकवानपुरगढीका ३ जना, बकैयाका २ जना, थाहा र राक्सिराङका एक÷एक जना छन् । यससँगै जिल्लामा ९ सय ८० सक्रिय संक्रमित पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१८ की ४८ वर्षीया महिला रहेको हेटौंडा अस्पतालका सूचना अधिकारी राजीव झाले जानकारी दिए ।
झाका अनुसार महिलामा साउन १३ गते एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनलाई साउन १४ गते उपचारका लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार विहान करिब ४ बजे उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी झाले बताए ।
यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४२ पुगेको छ । जिल्लामा हालसम्म १३ हजार २ सय ६१ जनामा कोरोना पुष्टि हुँदा १२ हजार १ सय संक्रमणमुक्त भएका छन् ।
छिमेकी चितवनमा पनि कोरोना संक्रमितको संख्या बढ्दो छ । दैनिक संक्रमणमुक्त हुनेभन्दा थपिनेको संख्या उच्च हुँदा सक्रिय संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ ।
शुक्रबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार १ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ७७ जना संक्रमित थपिँदा १ सय १९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । एक जना संक्रमितको मृत्यु भएको छ ।
सक्रिय संक्रमितमध्ये दुई हजार पाँच जना संक्रमित होम आइसोलेसनमा छन् । अस्पताल आइसोलेसनमा १ सय २१ जना छन् भने पब्लिक आइसोलेसनमा ९ जनामात्र छन् ।