एक समय नेपाली फिल्मका विकाउ अभिनेता हुन्, दीलिप रायमाझी । फिल्म ‘दर्पण छायाँ’ को ऐतिहासिक सफलतापछि उनी नेपाली फिल्ममेकरको पहिलो रोजाइ बन्न थालेका थिए । त्यसबेला सिनेमा हलसम्म दर्शकको भीड तान्न उनको नाम नै काफी मानिन्थ्यो । अभिनय र नृत्यमा आफूलाई अब्बल सावित गरेका उनले आफ्नो करिअरमा कयौं सम्झनलायक फिल्म दिएका छन् ।
तर, कलाकारको करिअरको ग्राफ सधैं एकनाश हुँदैन । दीलिपको फिल्मी करिअर पनि यतिबेला सुस्ताएको छ । उनले फिल्म पाउनै छाडेका त छैनन्, तर रिलिज भएका फिल्मले दर्शकमा प्रभाव छाड्न पनि सकेको छैन । लकडाउनअघि उनी अभिनीत तथा निर्मित फिल्म ‘लक्का जवान’ प्रदर्शनको पखाईमा थियो । तर, कोरोनाले फिल्मको रिलिज अनिश्चितकालका लागि रोकिएको छ ।
उनले अभिनय गरेको अर्को फिल्म ‘परदेशी २’ पनि रिलिजको पखाईमा रहेको छ । यी दुई फिल्म रिलिज भइदिएको हुन्थ्यो भने उनलाई ठूलो राहत मिल्ने थियो । तर, आश गरेको फिल्मको रिलिज कोरोनाका कारण अनिश्चित हुँँदा दीलिपले यतिबेला आफूलाई म्यूजिक भिडियोमा व्यस्त राखेका छन् । फिल्मबाट राम्रो क्रेज बनाएका कारण म्यूजिक भिडियोमा उनको लोभलाग्दो माग छ ।
उनले अभिनय गरेका डान्सिङ थिमका गीतलाई दर्शकले विशेष रुचाउने गरेका छन् । यसैले पनि म्यूजिक भिडियोमा राम्रो नाच्ने कलाकारको खोजी हुँदा दीलिप पहिलो रोजाइमा पर्छन् । यसैक्रममा, बिहीवार उनी अभिनीत डान्सिङ थिमको गीत ‘जिम्मल बाकी छोरी’ सार्वजनिक भएको छ । गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ भने प्रायःले उनको नृत्य रुचाएका छन् ।
इन्दिरा जोशी र रमेश बाबुको स्वर, प्रकाश सापकोटाको शब्द र भिम बहादुर श्रेष्ठको संगीत रहेको गीतमा दीलिपको जोडी इन्दिरा जोशीसँग बाँधिएको छ । भिडियोमा कमल सिंह र गीता ढुंंगानाको पनि अभिनय छ । कोरोनाले फिल्मको काम सुरु नहुँदा अहिले दीलिप म्यूजिक भिडियोको भरमा छन् । हुनत, यतिबेला फिल्मका प्रायः कलाकारले म्यूजिक भिडियोलाई नै समय दिएका छन् ।
साभार : फिल्मीखबर